बलात्कार आरोपमा मुद्दा खेपेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी बिरुद्द उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता भएको छ ।गिरीलाई सफाइ दिने सुनसरी जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएको हो ।
सिद्धबाबाको सफाइ फैसलाविरुद्ध विराटनगरस्थित उच्च अदालतमा आइतबार पुनरावेदन दर्ता गराइएको उच्च सरकारी वकिलको कार्यालय विराटनगरका प्रमुख ज्ञानचन्द्र भुसालले जानकारी दिए ।मुद्दा दर्ता भएकै दिन उच्च अदालतले मुद्दाको सक्कल मिसिल झिकाउन सुनसरी जिल्ला अदालतलाई पत्रचार गरेको छ । मिसिल आएपछि मुद्दा प्रक्रियामा जाने उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।
गत मंसिर २२ गते जिल्ला अदालत सुनसरीले प्रतिवादी पक्षका कानुन व्यवसायीको एकतर्फी बसहपछि गिरीलाई सफाइ दिने फैसला गरेको थियो। फैसलाको दुई महिनापछि पूर्णपाठ आएको थियो ।








