काठमाडौं उपत्यका ढाक्यो तुवाँलोले, अन्तराष्ट्रिय विमानस्थल अवरुद्ध



काठमाडौं उपत्यकामा शुक्रवार अत्यधिक धुवाँ मिसिएको वायु भित्रिएको छ  भने उपत्यकामा धुम्म भएको छ। शुक्रवा दिउँसो २ बजेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएको छ । काठमाडौंको आकाशमा वायुप्रदुषण बढ्दा हवाई उडान प्रभावित बनेको छ । तुवाँलोको कारण भिजीविलिटी कम हुँदा राष्ट्रिय अन्तराष्ट्रिय उडानहरु प्रभावित भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अन्तराष्ट्रिय उडानका चार ओटा बिमान अवतरण हुन नसक्दा आकाशमा नै होल्ड छन् । हङकङबाट आएको क्याथे प्यासिफिक, दिल्लीबाट आएको नेपाल एयरलाइन्स, दिल्लीबाटै आएको एयर इन्डिया र साउदीको दमामबाट आएको हिमालय एयरलाइन्स आकाशमा नै होल्ड भएर बसेका छन् ।

यता आन्तरिक उडानहरु सबै रोकिएका छन् । बुद्ध एयरले आफनो फेसबुक पेजमा लेखेको छ, “काठमाडौंमा भिजिविलिटी समस्या देखिएको छ । हाम्रा उडानहरु पनि प्रभावित भइरहेको छ । असुविधाको लागि क्षमाप्रार्थी छौं । उडान सम्बन्धी अपडेट हाम्रो मोबाइल एपबाट हेर्न सकिन्छ ।”

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं वरपरका क्षेत्रमा डढेलो लागेका कारण अचानक धुवाँ मिसिएको वायु भित्रिएको हो ।काठमाडौंमा दुई तीन दिन अघिदेखि नै तुवाँलोको समस्या देखिएको र यस्तोमा वरपरका क्षेत्रमा डढेलो लागेका कारण अचानक वायुमा समस्या भएको विभागले बताएको छ ।

प्रकाशित मिति : चैत्र १३, २०७७ शुक्रबार  ११ : ५१ बजे