नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि निर्बाचन शुरु भएको छ।अहिले देशैभरि मतदान जारी रहेको छ । केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति चयनका लागि एकै पटक मतदान सुरु भएको हो ।मतदानका लागि अपराह्न चार बजेसम्मको समय तोकिएको छ । पत्रकार महासंघको सदस्यता लिएका देशभरका करिब १४ हजार पत्रकारले नयाँ नेतृत्वको लागि मतदान गर्दैछन् ।
निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी कुल ९७ बुथमा निर्वाचन तोकिएको छ । केही शाखा र प्रतिष्ठानमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भए पनि आज चैत २५ गते मात्रै निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ । महासङ्घका सबै संरचनामा पूर्ण समावेशिताको व्यवस्था गरिएको छ ।
पहिलोपटक महासंघले प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नेतृत्व छान्न लागेको हो । अध्यक्ष पदका लागी विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्र बुढाथोकी प्रतिस्पर्धामा छन् ।
नेपाल पत्रकार महासङ्घ सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता सङ्गठन हो । देश विदेशमा रहेका नेपाली पत्रकारहरुलाई सङ्गठित गर्दै व्यावसायिक नेतृत्व प्रदान गर्ने र श्रमजीवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्नु महासङ्घको मूल ध्येय, लक्ष्य र दायित्व हो । विसं २०१२ चैत १६ गते गठन भएको नेपाल पत्रकार सङ्घको निरन्तरताका रूपमा महासङ्घ रहेको छ । विसं २०५३ जेठ २९ मा सङ्घलाई महासङ्घमा रूपान्तरण गरिएको हो ।








