आज देशैभरी रामनवमी पर्व मनाइदै



आज रामनवमी पर्व  देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।हरेक चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा रामनवमी मनाउने गरिन्छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमीका अवसरमा देशभरका राम मन्दिरहरुमा पूजापाठ गरिन्छ । जनकपुरस्थित रामजानकीको मन्दिरमा पनि नेपाल तथा भारतका नरनारीको घुइँचो छ ।

त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको जेठो छोरोको रुपमा विष्णुको अवतार लिएर श्रीरामको जन्म भएको धर्मग्रन्थमा उल्लेख छ । रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेको र दुष्टहरुको संहार गरेको वाल्मिकीय रामायणमा पढ्न पाइन्छ ।

रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने धार्मिक विश्वास छ ।गत वर्षजस्तै यस वर्ष पनि कोरोना संक्रमणको जोखिम भएकाले मन्दिरहरुमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सरकारले सबैलाई आग्रह गरेको छ ।

यसैबीच चितवनको माडीस्थित अयोध्यापुरीमा राम(सीताको मूर्ति आज प्रतिस्थापन गरिँदै छ । प्रतिस्थापन गर्ने मूर्तिहरु मंगलबार नै प्रधानमन्त्री निवास बालुवाटारबाट रथयात्रासहित चितवन लगिएको छ ।

प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार  ४ : ०२ बजे