बुधबारदेखि भक्तपुरमा खस्यो मेलम्चीको पानी



मध्यपुरथिमि नगरपालिका–९ टिगनीस्थित खानेपानी ट्याङ्कीमार्फत बुधबारदेखि भक्तपुरको मध्यपुरथिमि क्षेत्रमा मेलम्ची खानेपानी वितरण शुरु गरेको छ । केहीदिन भित्रै मध्यपुरथिमि क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको खानेपानी वितरण हुने भएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी प्रमुख मिलन शाक्यले मेलम्चीको पानी काठमाडौँ झरेपछि ९० प्रतिशत पानी काठमाडौँमा वितरण भए पनि १० प्रतिशत पानी चुहावट भएको बताउनुभयो । पुरानो पाइप लाइनबाट पानी चुहावट हुने र पाइप फुट्ने गरेको उल्लेख गर्दै उहाँले ३२० ठाउँमा भएको चुहावटमध्ये २०० ठाउँको चुहावट रोकेको बताउनुभयो । अब ल्याङ्ग्री र लार्केबाट थप पानी ल्याई तीन वर्षपछि काठमाडौँमा दैनिक ३४ करोड लिटर पानी झारेपछि २४ सै घण्टा पानी वितरण गर्न सकिने उहाँको भनाइ थियो ।

कार्यक्रममा आयोजना कार्यान्वयन निर्देशनालयका कार्यक्रम निर्देशक कमलराज श्रेष्ठले १७ करोड लिटर पानी प्रणालीमा आएपछि भक्तपुरको पुरानो प्रणालीबाट पानी वितरण शुरु हुने बताउनुभयो । मेलम्चीमा नियमित पानी आउने र यहाँ हिउँ पग्लेरसमेत पानी आउने भएकाले अब पानीको समस्या नहुने भन्दै उहाँले आगामी तीन वर्षपछि नयाँ परियोजना सकिएर व्यवस्थितरूपमा सबै ठाउँमा मेलम्चीको अन्तर्राष्ट्रिय गुणस्तरयुक्त पानी वितरण गर्न सकिने बताउनुभयो ।

प्रकाशित मिति : बैशाख ९, २०७८ बिहिबार  ४ : ५६ बजे