देशभर जस्तै ओखलढुंगामा पनि कोरोना भाइरसको संक्रमण बृद्धि भैरहेको छ । यसको व्यवस्थापन र नियन्त्रणका लागि सबै भन्दा पहिलो स्वास्थ्य कार्यालय, मातहतका स्वास्थ्य संस्था र अस्पतालहरुकै हुन्छ । सुरक्षा निकाय,स्थानीय सरकार र सञ्चार माध्यामको पनि भूमिका संगसंगै हुन्छ । स्वास्थ्य सुरक्षाका सामाग्री देखि औषधि, खोप लगायत सम्पूर्ण व्यवस्थापकिय पक्षको पहिलो जिम्मेवार निकाय स्वास्थ्य कार्यालय नै हो । तर स्वास्थ्य कार्यालय ओखलढुंगा भरपर्दो सवारी साधनको अभावमा गुज्रीएको छ ।
तत्काल कुनै विरामीलाई उद्धार गर्नु पर्यो भने कार्यालयमा एम्बुलेन्स छैन् । प्रदेश एवं संघिय स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य मन्त्रालय, प्रदेश सामाजिक विकास मन्त्रालय र जिल्लाका सबै सांसद तथा मन्त्रीलाई समेत सवारी साधनको व्यवस्था मिलाइदिन पटक पटक अनुरोध गरेपनि हाल सम्म सवारी साधनको व्यवस्था नभएको स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले गुनासो गर्नुभयो ।
कार्यालय प्रयोजनका लागि एउटा थोत्रो गाडी बाहेक कुनै सवारी साधन नभएको वाहाको भनाइ छ । बागमति अञ्चलको १ लटको उक्त गाडी पिच सडकमा समेत दुखले चल्ने अवस्थाका रहेको हुँदा कच्ची सडमा लान नमिल्ने स्वास्थ्य कार्यालयका सवारी चालक युवराज कोइरालाले जानकारी दिनुभयो । ओखलढुंगाको सबै भूगोलमा कच्ची सडक मात्र रहेको छ ।
महामारीको समयमा नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि धेरैजसो सदरमुकाम बाहिर जानु गर्ने हुँदा सवारी साधनको अभावले निकै समस्या निम्त्याएको कार्यालय प्रमुख तिवारीको भनाइ छ । सवारी साधनकै कारण स्वास्थ्य कार्यालयलाई कोभिड–१९ व्यवस्थापनमा निकै चुनौति थपिएको वाहाले बताउनुभयो । रुम्जाटार बाट ओखलढुंगा आउदा समेत अहिले चलाइरहेको गाडीले धेरैपटक विग्रीएर दुख दिएको सवारी चालक कोइराला बताउनुहुन्छ । कोरोना संक्रमितहरुको पिसिआर परिक्षणका लागि संकलन गरिएको स्वाब परिक्षण केन्द्रमा पुर्याउन समेत कार्यालयमा सवारी छैन् ।
जिल्लामा संक्रमितहरुको संख्या दैनिक जसो बढीरहेका र धेरैलाई लक्षण देखा पर्न थालेकाले भोली बाटै पिसिआरका लागि स्वाब संकलनमा खटीनु पर्ने अवस्था भएकाले भाडामा सवारी साधन लिएर जानुको विकल्प नभएको कार्यालयले जनाएको छ । सवारी भाडामा लिनका लागि आवश्यक बजेट व्यवस्थापन समेत नभएकाले समस्या आएको कार्यालय प्रमुख तिवारीको भनाइ छ । अघिल्लो पटकको लक डाउनमा सिद्धिचरण नगरपालिका वडा नम्बर ५ वर्नालु स्वास्थ्यचौकीको एम्बुलेन्स प्रयोग गरेर स्वास्थ्य सेवाहरु दिदै आएको थियो । उक्त एम्बुलेन्स समेत एकपटक दुर्घटना भएपछि बनाएर नगरपालिकाले आफ्नै मातहतमा राखेर चलाउदै आएको छ ।










