ओखलढुंगा बजारक्षेत्रबाट १५ सिलिण्डर अक्सीजन संकलन



कोरोना भाइरसको महामारी बृद्धि भैरहेको अवस्थामा ओखलढुंगामा अक्सीजन सिलिण्डर संकलन गरिएको छ । आज बजार क्षेत्रका व्यवसायिहरुले व्यक्तिगत प्रयोजनका लागि स्टक राखेका १५ सिलिण्डर अक्सीजन संकलन गरिएको हो । जिल्लामा कोभिड–१९ संक्रमण दर बृद्धि भैरहेको अवस्थामा अत्यावसेकीय सेवाका रुपमा लिइएको अक्सीजन देशभर जस्तै ओखलढुंगामा पनि अभाव रहेको छ ।

कोरोना संक्रमित विरामीको संख्या बढेपनि हाल सम्म जटील समस्या भने आएको छ्रन् । तर आउन सक्ने जटिल समस्यालाई मध्यनजर गर्दै बजारक्षेत्रमा उपलब्ध अक्सीजन सिलिण्डर संकलन गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्द काफ्लेले बताउनुभयो । व्यवसायिहरु बाट संकलन गरिएका अक्सीजन सिलिण्डर जिल्ला प्रहरी कार्यालयमा स्टोर गरिएको छ । आवश्यक्ता अनुसार प्रयोग गर्ने र पछि सम्बन्धीत व्यपारीहरुलाई नै सिलिण्डर फिर्ता गरिने काफ्लेको भनाइ छ ।

ओखलढुंगा सामुदायिक अस्पताल र जिल्ला अस्पताल रुम्जाटारमा जम्मा ५९ सिलिण्डर अक्सीजन उपलब्ध छ । सामुदायिक अस्पताल मिसनले आफ्नै अक्सीजन प्लान्ट सञ्चालन गरेकोहुँदा दैनिक ८ सिलिण्डर अक्सीजन भर्न सक्ने क्षमता रहेको छ । एक्कासी ठुलै समस्या आइहाल्यो भने तत्काल सेवा प्रयोजनका लागि अक्सीजन सिलिण्डर संकलन गरिरहेको हुँदा कसैसंग स्कट रहेको सिलिण्डर भए उपलब्ध गराउन समेत आग्रह गरिएको छ ।

साथै जिल्ला प्रहरी कार्यालयले अत्यावसेकीय सेवाका लागि आज बाट एउटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । कोरोना भाइरस संक्रमण भएका विरामीहरुका लागि आवश्यक सेवा दिनका लागि एउटा एम्बुलेन्स जुनसुकै समयमा पनि पनि तयारी अवस्थामा रहेको डिएसपी काफलेले जानकारी दिनुभयो ।ओखलढुंगामा हाल सम्म संक्रीय संक्रमित २४ पुगेका छन् । आज ७ जनामा एन्टीजेन परिक्षण गर्दा ३ जना संक्रमित थपिए संगै संक्रमितको संख्या २४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार  ५ : १२ बजे