ताउ–ते चक्रवातको असर नेपालमा पाँच दिन पर्ने



मंगलबारदेखी देशभरको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पूर्वीमध्य अरब सागरमा बनेको अति शक्तिशाली चक्रवात ‘ताउ–ते’ को प्रभावकाले मौसम बदली भएको महाशाखाले जनाएको हो ।

यसैबिच शक्तिशाली चक्रवात ताउ–ते उत्तर–उत्तरपश्चिम हुँदै सोमबार राति गुजरात पुगेर ठोक्किएको छ । चक्रवातको प्रत्यक्ष प्रभाब नेपालमा नपरे तापनि केही असर नेपालको भू–भागमा पनि पर्ने सम्भावना छ ।

सो प्रणालीका कारण मंगलबारबाट देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदलीको हुने मौसमविदले बताए । यस्तै बुधबार बेलुकादेखि शुक्रबारसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षा हुने छ ।

अहिलेकै समयमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई प्री–मनसुन थप सक्रिय भएकाले पनि नेपालमा सोमबारदेखि दोहोरो मौसमी असर सुरु भएको छ ।अहिले पनि अरब सागरमा आफ्नो उग्र रूप निर्माण गर्न सक्रिय रहेको ‘टाउ टेई’ चक्रवात जमिनमा नखसेसम्म यसले आसपासका क्षेत्रमा असर पु९याउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवातले प्रत्यक्ष असर नपारे पनि भारत हुँदै आउँदा अप्रत्यक्ष असर बढी देखिने भएको हो । मौसमविद् प्रतिभा मानन्धरका अनुसार, “सोमबारदेखि आउँदो शुक्रबारसम्म यस चक्रवातको हल्का असर नेपालमा पर्नेछ, शनिबारदेखि मौसममा सुधार हुँदै जानेछ ।” जसअनुसार सोमबार मध्यदेखि नै नेपालको अधिकांश आकाशमा बादल लागेको छ ।

उनका अनुसार भारतमा यस चक्रवातको असर विगत केही दिनयतादेखि नै चर्को रूपमा देखिएको छ । तर त्यो असर नेपालसम्म आइपुग्दा कमजोर हुने भएकाले पनि ढिला र कम असर पर्ने सम्भावना रहेको जनाईएको छ । महाशाखाका अनुसार मङ्गलबारसम्म सामान्य रहने चक्रवातको असर बुधबारदेखि शुक्रबारसम्म भने अलिक बढी हुनेछ । बुधबारदेखि आकाश पूर्ण रूपमा बादलले ढाक्ने र विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना महाशाखाले औँल्याएको छ ।

अबको चार दिन मौसम खराब रहने भएकाले नेपालका पश्चिमी हिमालमा हिमपात हुने र हावा चल्ने हुनाले त्यस क्षेत्रमा आरोहण नगर्नसमेत महाशाखाले सचेत गराएको छ । अरब सागरबाट पश्चिम भारत हुँदै जमिनमा उत्रने सो चक्रवातको असर पनि नेपालको पश्चिमी भेगमा बढी पर्नेछ । गण्डकी, लुम्बिनी र कर्णाली, सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । केही स्थानमा भारी वर्षा हुने पनि लक्षण देखिएको छ ।

प्रकाशित मिति : जेष्ठ ४, २०७८ मंगलबार  ५ : ०५ बजे