ओखलढुंगा सामुदायिक अस्पतालमा आएको बजेट कसरी पुग्यो अर्कै अस्पतालमा ?



कोरोना महामारीले शिथिल अवस्थामा पुगेका संक्रमितले जिल्लामै उपचार नपाएर छटपटाइरहेका अवस्थामा स्वास्थ्य मन्त्रालय भने अमुक राजनीतिक नेता कार्यकर्ताको दवावमा दैनिक निर्णय फेर्दै बसेको छ । ओखलढुंगा सामुदायिक अस्पतालमा ५ वेड आइसियु सहित २ भेन्टिलेटर खरिद गर्ने जेठ १६ को निर्णयलाई परिवर्तन गर्दै मन्त्रालयले ओखलढुंगा सामुदायिक अस्पतालको सट्टा जिल्ला अस्पताल रुम्जाटारको लागि निर्णय गरेको हो ।

गत जेठ १४ गते अर्थमनलयले स्रोत सुनिश्चितता गरेर ओखलढुंगा सामुदायिक अस्पताल उक्त उपकरण खरिद गर्न चलानी नं. २३४९ को पत्र पठाएसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ १६ गते सोही अनुसार कार्यन्वायन गर्नकालागि प्रदेश सामाजिक विकास मन्त्रालयलाई पत्र पठाएको थियो । मन्त्रालयले स्रोत सुनिश्चितता गरेर पठाएको उक्त पत्रलाई लिएर एमाले ओली समुह र माधवसमुहका कार्यकर्ताविच सामाजिक सञ्जालमा राजनीतिक जुहारी नै चल्यो ।कुन समुहले जस लिने भन्ने फेसबुके जुहारी सुरुभएसंगै एमाले ओली समुहका नेता मन्त्रालयमा पुगेर निर्णय फेर्न दवाद दिएको जिल्ला स्थित एक नेताले बताए । नेताको दवाव थाम्न नसकेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १७ गते ओखलढुंगा सामुदायिक अस्पताल सोब्रुको सट्टा उक्त भेन्टीलेटर जिल्ला अस्पताल ओखलढुंगा रुम्जाटार राख्ने गरी निर्णय फेरेको वाहाको आरोप छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले २०७८ जेठ ३ गते सामुदायिक (अस्पताल मिसन) मा भेन्टिलेटर जडान गर्न स्वास्थ्य मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारसँग अस्पतालमा कोभिड १९ केयर युनिट सञ्चालन गरेर २० वेडमा अक्सिजनसहित कोरोना संक्रमितको उपचार शुरु गरिएकाले भेन्टिलेटर आवश्यक भएर माग गरिएको ओखलढुंगा सामुदायिक अस्पतालले जनाएको छ ।मिसन अस्पतालले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयसहितको पत्र विघटित प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारमार्फत दिन मन्त्रालयमा पत्र पठाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओखलढुंगा सामुदायिक अस्पतालमा ५ आइसियु बेडसहित २ भेन्टिलेटर छिटो तरिकाबाट खरिद गरेर जडान गर्न र सृजित दायित्य प्रदेश नं. १ सामाजिक विकास मन्त्रालय मार्फत भूक्तानी माग गर्न जेठ १६ गते परिपत्र गर्नासाथ नेकपा एमाले भित्रको कुन गुटले जस लिने भन्ने विवादका कारण आइसियु बेडसहित २ भेन्टिलेटर सेवा बाट ओखलढुंगा सामुदायक अस्ताल बञ्चितीकरणमा परेको छ ।

मन्त्रालयको दैनिक परिपत्र फेरिएको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले अनभिज्ञता प्रकट गर्नुभयो । पौडेलले यस विषमा सहप्रवक्ता डा.समिर कुमार अधिकारीलाई थाहा होला भन्नुभयो । सह प्रवक्ता अधिकारीलाई पटक पटक टेलिफोन गर्दा फोन रिसिभ गर्नुभएन । मन्त्रालयका एक अधिकृतका अनुसार उप प्रधानमन्त्री ईश्वर पोखरेलको दवावमा उक्त निर्णय फेरिएको हो । वाहाले नाम उल्लेख नगर्ने शर्तमा भन्नुभयो “प्रदेशदेखि माथिसम्मकै दवाव छ बोल्न सकिदैन ।’ प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बीर गुरुङको दवावपछि उपप्रधानमन्त्री पोखरेलले दोस्रो परिपत्र गर्न लगाएको बुझिएको छ ।”

जिल्लामा भेन्टिलेर र आइसियु वेड नहुँदा विरामीले ७ लाख सम्म हेलिकोप्टर चार्टर गरेर उपचार गराउनु पर्ने बाध्यता रहेको छ । कोभिड १९ केयर युनिटमा आइसियु र भेन्टिलेटर जडान हुने कुरा सुनिश्चित भएपछि अस्पतालले पनि तुरुन्तै खरिद प्रकृया अघि बढाउने तयारीमा रहेपनि एकैदिनमा सपना चकनाचुर भएको ओखलढुंगा सामुदायिक अस्पतालले जनाएको छ । नेताहरुलाई केन्द्रीय सरकारबाट बिनियोजित बजेट शक्तिका भरमा तानातान गर्नु भन्दा बजेट बिनियोजन नभएको अस्पतालका लागि थप बजेट बिनियोजनका गर्न शक्ति केन्द्रीत गर्नुपर्ने नेपाली कांग्रेसका नेता कुमार लुइटेलले सुझाव दिनुभएको छ ।

सामुदायिक अस्पताल ‘२० वेडको कोभिड–१९ केयर युनिट पनि भएकाले उक्त संरचना अत्यावश्यक भएपनि पहुँच देखाउनेलेहरुले तुच्छ राजनीति गरेको एमाले माधव समुहका जिल्ला सदस्य दिपक फुयलले बताउनुभयो । मन्त्रालयको यो निर्णयलाई लिएर सामाजिक सञ्जालमा चलेको पार्टीको समुहगत जुहारी नागरिकस्तर सम्म पुगेको छ । नेताको अनावश्यक प्रचार गर्ने कार्यकर्ता र ति कार्यकर्ताका नेताहरुको हैसियत यो घटनाले पुष्टि गरेको सरोकारवालाहरु बताउछन् । मास्क वितरणमा समेत राजनीति गर्दै आएका नेताहरुलाई यो निर्णय निकै ठुलो लागेको हुन सक्ने पत्रकार शिव प्रसाद ढुंगानाले बताउनुभयो ।

प्रकाशित मिति : जेष्ठ १८, २०७८ मंगलबार  ५ : ५६ बजे