ओखलढुंगामा कोरोनाको भुंग्रोमा परेका गाउँबासीलाई जोगाउन तीन युवाको अभियान



सिद्धिचरण नगरपालिका ८ सल्लेरीमा एक साता अघि २७ जनामा कोरोना पुष्टि भयो । एउटै गाउको समुदायस्तरमा पहिलो पटक यति धेरैको संख्यामा कोभिड संक्रमण देखा परेको गाउनै स्तब्ध भयो । स्थानीयहरुमा त्रास उत्तिकै बढेको थियो ।

कोरोना संक्रमणबाट गम्भीर विरामी भएका स्थानीयलाई अस्पतालसम्म पुर्याउन भनेको बेला एम्बुलेन्स नपाइँदा थप समस्या हुन थाल्यो । उक्त गाउँका २ जनालाई ३ लाख ३० हजारका दरले पैसा तिरेर थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ लगियो । आर्थिक अवस्था सामान्य भएकाहरुको लागि यो उपाय सम्भव थिएन । एक्कासी कोरोनाको भुंग्रोमा परेको सल्लेरी गाउँमा थप संक्रमण फैलिन नदिन र गम्भीर विरामी भएकाहरुलाई बेलैमा उपचार व्यवस्थापन मिलाउन पहिलो आवश्यक थियो ।

यही आवश्यक्तालाई मध्यनजर गर्दै संक्रमणबाट गाउँलाई जोगाउन स्थानीय तीन युवाहरु मिलेर सहयोग अभियान थालेका छन् । गाउँमै रहेका सामाजिक क्षेत्रमा समेत सक्रिय युवा नेता सर्वधन तामाङ, देशवीर तामाङ र युकेमा रहेका दीलीपकुमार तामाङले थालेको यो अभियानमा वडा नं ८ का वडाध्यक्ष हेमकुमार तामाङ, बुद्धिराज तामाङ, एकराज तामाङ, धनराज तामाङलगायतले समेत साथ दिनुभएको छ ।

आफ्नै गाउँका विभिन्न पेशा व्यवसायमा लागेकाहरुसँग आर्थिक सहयोग संकलन गरी आवश्यक औषधि, स्वास्थ्य सामाग्रीहरु तथा पोषिलो खानेकुरा उपलब्ध गराउन थालेको नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष समेत रहनुभएका अभियान्ता सर्वधन तामाङले बताउनुभयो । युवाहरुको अभियानमा अहिलेसम्म ९ लाख रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भइसकेको छ । सो रकमबाट औषधि, अक्सिमिटर, सुगर नाप्ने मेशिन, थर्मोमिट, पीपीई सेट, मास्क, सेनिटाइजर लगायतका सामग्रीहरु गाउँका गुठी, आमासमुह, स्वास्थ्य संस्था र कार्यालयहरुलाई संगै संक्रमितहरुका परिवारलाई वितरण गरिरहेको तामाङले जानकारी दिनुभयो । ‘हाम्रो अभियान गाउँमा थप संक्रमण फैलिन नदिने नै हो,’ अभियानमा सहभागि तथा वडा अध्यक्ष हेमबहादुर तामाङले भन्नभयो, ’यो अभियानबाट कोरोनाको उपचारमा समस्या भएकाहरुलाई समेत सहयोग गर्नेछौं ।’

कोरोना संक्रमितलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्स नपाएपछि अभियान्ताहरुले एउटा जिप मासिक भाडा तिरेर व्यवस्था गरिएको छ । जिपले वडा नं ८ को वडाभरि सेवा दिनेगरी व्यवस्था मिलाएका छन् । संक्रमितहरुलाई औषधि र अण्डा, हर्लिक्सलगायतका पोषिलो खानेकुराहरुको घरैमा लगेर वितरण गर्दै आएका छन् ।

यो अभियानलाई स्वास्थ्य चौकी केत्तुकेका ईञ्चार्ज उमेश तामाङले समेत साथ दिन्भएको छ । विरामीहरुको स्वास्थ्य अवस्था परीक्षण र सल्लाह दिँदै दिने जिम्मेवारी अहेव तामाङले लिनुभएको छ । मंगलबार मात्रै सल्लेरी गाउँमा थप २७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सो वडामा ५४ जनामा कोरोना संक्रमण देखा परिसकेको छ । संक्रमण फैलन नदिन समुदायस्तरमै बनेको युवाहरुको यो अभियान जिल्लाकै उदाहरणीय भएको भन्दै स्थानीय नागरिक तथा संक्रमितहरुमा खुसी छाएको छ ।

प्रकाशित मिति : जेष्ठ १९, २०७८ बुधबार  ३ : ३६ बजे