अमेरिकाले विश्वका १०० वटा देशलाई ५० करोड फाइजर खोप वितरण गर्ने



अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले दुई वर्षको अवधिमा ५० करोड फाइजर खोपको मात्रा करिब १०० वटा देशलाई उपलब्ध गराउने संयुक्त राज्य अमेरिकाका सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो वर्षभित्र २० करोड खोपको मात्रा वितरण गरिनेछ भने बाँकी सन् २०२२ मा वितरण गरिनेछ।अमेरिकालाई गरिब देशहरूमा कोरोनाभाइरस विरुद्धको खोपको दर वृद्धिका लागि सघाउन दबाब परिरहेको छ।

अमेरिकी राष्ट्रपतिका रूपमा पहिलो विदेश भ्रमणको सुरुवात गर्दै बाइडन यूकेमा ओर्लिएपछि पछिल्ला खबरहरू सार्वजनिक भएका हुन्।रोयटर्स समाचार संस्थाका अनुसार अमेरिकी सरकारले ९२ वटा कम आय भएका देश र अफ्रिकी सङ्घलाई उक्त खोप सहयोग गर्ने जनाएको छ।

कोभ्याक्स कार्यक्रममार्फत सो खोप वितरण गरिने भनिएको छ। अघिल्लो वर्ष स्थापित कोभ्याक्सले धनी र गरिब देशहरूबीच खोपको पहुँचमा विभेद नहोस् भन्ने आवाज उठाउँदै आएको छ।अमेरिकाले यसअघि कोभ्याक्समार्फत ६ करोड खोपको मात्रा उपलब्ध गराउने घोषणा गरेको थियो। बिबिसि नेपालिबाट

प्रकाशित मिति : जेष्ठ २७, २०७८ बिहीबार  ४ : ४१ बजे