स्तन क्यान्सर भएर भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं ९ ज्यामिरेका शारादा भूजेललाई स्थानीय युवाहरुले आर्थिक सहयोग गरेका छन् । ज्यामिरेका सक्रिय युवाहरुको सञ्जाल परिवर्तनका लागि युवा समूहले स्तन क्यान्सरपीडित शारदा भुजेललाई १ लाख ५५ हजार २ सय २१ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
स्थानीय युवा समाजसेवी विकास वाग्लेको संयोजकत्वमा उक्त सञ्जालले विभिन्न व्यक्तिहरु बाट सहयोग रकम जुटाएर शारदालाई सहयोग गरेको जनाएको छ । एउटै गाउकी ३६ वर्षीया पीडित भुजेललाई विभिन्न मनकारीमनहरुसंग अनुरोध गरेर जुटाएको रकम पिडितलाई हस्तान्तरण गरिएको परिवर्तनका लागि युवा सञ्जालका संयोजक विकास कुमार वाग्लेले बताउनुभयो । भक्तपुर क्यान्सर अस्पतालमा अहिले उपचाररत भूजेललाई किमोथेरापी गरेर तुरुन्तै उपचार अगाडि बढाउन आर्थिक अभाव भएको थियो ।
वाहाको जिवनरक्षाका लागि आफुहरुले सहयोग जुटाएर पीडित भुजेललाई उपचारमा सहजता ल्याउन लागेको वाग्लेको भनाइ छ । युवाहरुले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट चिनजान, आफन्त र साथिभाइहरुसंगको सहयोगको लागि अनुरोध गरी शारदालाई भुजेल बचाउ अभियान चलाएर १ लाख ५५ हजार २ सय २१ रुपैयाँ आर्थिक सहयोग जुटाएको बताएका छन् । आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा निरन्तर लागिरहने युवाहरुले बताएका छन् ।








