साफ फुटबल नेपालमा आयोजना हुन्छ : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज युवा तथा खेलकूद मन्त्रालयद्वारा आयोजित ‘थ्री नेसन्स कप’ को उपाधि विजेता राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मानपत्र वितरण कार्यक्रममा उहाँले साफ फुटबल नेपालमा आयोजना गरिने जनाउँदै नेपाली टोलीलाई जित्ने उद्देश्यका साथ अभ्यास गर्न सुझाव दिनुभयो । प्रधानमन्त्री ओलीले साफ फुटबलको तयारी थाल्न अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० र राष्ट्रिय खेलकूद परिषद् ९राखेप० लाई निर्देशन दिनुभयो ।

आयोजक राष्ट्र बङ्गलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले प्रस्ताव अघि बढाएका सन्दर्भमा प्रधानमन्त्री ओलीले उपाधि जित्नका लागि कडा मेहनत आवश्यक भएकाले नेपाली टोलीलाई जित्ने लक्ष्य लिएर मैदानमा उत्रिन आग्रह गर्नुभयो । “हामी साफ आयोजना गर्न सक्छौँ, मनोबल उच्च बनाउनुस्”, उहाँले भन्नुभयो । गत वर्ष चैतमा सम्पन्न ‘थ्री नेसन्स कप’ को फाइनल खेलको दशरथ रङ्गशालामा प्रत्यक्षरुपमा अवलोकन गरेको सम्झना गर्दै प्रधानमन्त्री ओलीले कद होचो भए पनि मनोबल उच्च भएकाले नेपाली टोलीले बङ्गलादेशसितको फाइनल खेल जित्नेमा आफू त्यतिबेलै आशावादी भएको बताउनुभयो ।

नेपाली टोलीले अनुशासितरुपमा फाइनल खेल खेलेको जनाउँदै उहाँले खेलमा अनुशासन अत्यावश्यक भएको बताउनुभयो । “टोलीको आत्मविश्वास बढाउन हरेक खेलाडीले आफ्नो आत्मविश्वास बढाउनु आवश्यक हुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । देशको विकास हुनका लागि खेलकूदको मात्र नभई चौतर्फी विकास आवश्यक भएको उहाँको भनाइ थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली टोलीका खेलाडी र प्रशिक्षकलाई नगदसहित खादा ओढाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रमका प्रारम्भमा युवा मन्त्रालयका सचिव केदार न्यौपानेले मन्त्रालयले गरिरहेका विभिन्न गतिविधिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउँदै उपाधि विजेता फुटबल टोलीका लागि रु एक करोड निकासा गरिएको बताउनुभयो । सम्मानितका तर्फबाट नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू चेम्जोङले सरकारले सम्मान गरेपछि आफूहरु थप उत्साहित भएको बताउँदै आगामी दिनमा पनि सम्मान र पुरस्कृत हुने उद्देश्यका साथ खेल प्रदर्शन गर्ने वाचा गर्नुभयो । “आगामी दिनमा पुरस्कृत र सम्मान गर्न बाध्य पार्ने गरी खेल्छौँ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : असार २७, २०७८ आईतबार  ७ : ०७ बजे