भारतको उत्तर प्रदेशमा रहेको देवरिया जिल्लामा १७ वर्षीया एक किशोरीलाई उनका काकाहरू र हजुरबुवाले हत्या गरेका छन् ।
जीन्सको पाइन्ट नलगाउन उनीहरूले जारी गरेको उर्दीको उल्लंघन नातिनीले गरेपछि हत्या गरिएको हो ।
लुधियानामा बस्दा जीन्स लगाउने बानी परेकी किशोरीलाई गाउँ फर्केपछि कुर्ता सुरुवाल लगाएर बस्न भनिएको थियो । उनले त्यसो गर्न मानिनन् अनि घरमा एकदमै कम बस्ने गर्न थालिन् ।
सोमवार काकाहरू र हजुरबुवासँग घरमा झगडा परेपछि उनीहरूले उनलाई भित्ता पछारेर मारेका थिए । त्यसपछि उनीहरूले किशोरीको मृत शरीर कास्या–पटना राजमार्गमा रहेको पाटनवा पुलबाट फ्याँकेका थिए । तर शरीर पुलको ग्रिलमा अड्किएको थियो ।
लाश पुलमा घन्टौंसम्म अड्किएको थियो । पछि बटुवाहरूले देखेर प्रहरीलाई खबर गरेका थिए ।
हजुरबुवा र ट्याम्पुचालक हसनैनलाई बिहीवार पक्राउ गरिएको छ भने काकाहरू फरार छन् । एजेन्सी