टेलिकममा प्राविधिक परीक्षणसहित पारदर्शिताको माग



नेपाल टेलिकमको सेवा प्रवाहका विषयमा प्राविधिक परीक्षणसहित पारदर्शिताको माग गर्दै तीन कर्मचारी सङ्घ सङ्गठनले यही साउन ७ गतदेखि धर्नामा उत्रेका छन् ।फोरजी, एफटिटीएच, आइपिटिभी, आरटिडीएफलगायतका टेलिकमका चालु परियोजनाको अवस्था सम्बन्धमा श्वेतपत्र जारी गरी यी सेवाको प्राविधिक परीक्षण गरिनुपर्ने माग गरिएको नेपाल टेलिकम वर्कर्स युनियनका अध्यक्ष राजेन्द्रप्रसाद जोशीले राससलाई जानकारी दिनुभयो । कम्पनीका प्रबन्ध निर्देशकको कार्य सम्पादन सम्झौता सार्वजनिक गरी आवधिक मूल्याङ्कन गराउन पनि कर्मचारी सङ्घ सङ्गठनले माग गरेका छन् ।

टेलिकम बोर्डले एकपक्षीयरुपमा कर्मचारी हक, अधिकारको विषय कटौती गरी निरङ्कुश चरित्र प्रदर्शन गरेकाले सच्याउनसमेत माग गरिएको छ । तह नौसम्म कर्मचारी सङ्घ सङ्गठनको सदस्यता लिएर आधिकारिक ट्रेड युनियनको निर्वाचनमा भाग लिन पाउने व्यवस्थालाई एकपक्षीयरुपमा सात तहमा झारिएकामा कर्मचारीले आपत्ति जनाएका छन् । विगत दुई वर्षदेखि नै आधिकारिक ट्रेड युनियनको निर्वाचन नगरी टेलिकम व्यवस्थापनले कर्मचारीको प्रजातान्त्रिक अधिकार कुण्ठित गर्न खोजेको आरोप छ ।

नेपाल टेलिकम वर्कर्स युनियन, नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन र नेपाल टेलिकम कर्मचारी युनियनले यही साउन ७ गतेदेखि टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीप्लाजा परिसरमा धर्ना जारी राखेका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाइएको छ । मागका विषयमा टेलिकम सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलाई भेटेर जानकारी गराउन लागिएको जनाइएको छ ।

प्रकाशित मिति : श्रावण २६, २०७८ मंगलबार  ७ : ३३ बजे