झण्डै ११ महिनापछि कुलमान प्राधिकरणमा



झण्डै ११ महिनापछि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङ फर्किएका छन्। बुधबार नियुक्ति पत्र बुझेलगत्तै विद्युत प्राधिकरणमा घिसिङ पुनः फर्किएका हुन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। घिसिङले यसअघि चार वर्ष प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए।

दैनिक १८ घण्टासम्म हुने विद्युत् कटौती (लोडसेडिङ)अन्त्य गरेका उनले प्राधिकरणको व्यवस्थापनमा पनि उल्लेख्य सुधार गरेका थिए।

घिसिङको कार्यकाल २८ भदौ २०७७ मा सकिएको थियो। त्यतिबेला पनि घिसिङलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गरिनुपर्ने आवाज उठे पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसमा रुचि देखाएका थिएनन्।

प्रकाशित मिति : श्रावण २७, २०७८ बुधबार  २ : ०५ बजे