कैलालीको अत्तरियाबाट करिव ३८ तोला अवैध सुनसहित तीन जना पक्राउ



कैलालीको अत्तरियाबाट करिव ३८ तोला अवैध सुनसहित तीन जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय मालाखेतीको सयुक्त टोलीले ४४९ दशमलव ७७ ग्राम सुनसहित अत्तरीयाबाट तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा शैलेश्वरी सुनचाँदी पसल अत्तरियाका सञ्चालक समिर सिजापती, सोही सुनचाँदी पसलमा कार्यरत सुनसरीका राजु बिक र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का भवानी घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उनीहरुको साथबाट ४९ हजार बढी नगद र ५ थान मोबाइल पनि समेत बरामद गरिएको उनले बताए । अत्तरियास्थित सडकखण्डमा काठमाडौबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ८ ख ८३४९ नम्बरको महाकाली यातायातको बसलाई चेकजाँच गर्दा उक्त बसका कण्डक्टर घिमिरेको साथबाट ४९ दशमलव ९५ ग्राम अवैध सुनको बाला र नगद २६ हजार बरामद गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

बस सवार रहेका राजु बिकको साथबाट सुनको बाला र सिक्री गरी जम्मा ३४९ दशमलव ८७ ग्राम अवैध सुन बरामद गरिएको हो । उनको साथबाट नगहद ६ हजार ९ सय बरामद गरिएको उनले बताए । उनीहरुसँग सोधपुछ गर्ने क्रममा सुन अत्तरियाका व्यवसायी समिर सिजापतीको खुलेपछि सिजापतीलाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

सिजापतीको खानतलासी गर्दा उनको साथबाट ४९ दशमलव ९५ ग्राम अवैध सुनको बाला र १६ हजार तीन सय नगद बरामद भएको प्रहरीले जनाएको छ । भवानी घिमिरे र समिर सिजापतीको साथमा कतार दोहाको बिल रहेको तर किन्ने व्यक्तिको बिबरण फरक रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति : श्रावण २७, २०७८ बुधबार  ६ : १८ बजे