मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलोत्तमाका दश उद्यमीलाई एक लाख राशिको उद्यमशीलता अवार्ड



रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका १० उद्यमीले जनही रु एक.एक लाख नगदसहितको उद्यमशीलता तथा नवप्रवर्तन कोष अवार्ड प्राप्त गरेका छन् ।नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को साझेदारीमा सञ्चालित कोभिड–१९ उद्धार र सामाजिक–आर्थिक प्रतिकार्य परियोजनाअन्तर्गत उद्यमीले सो अवार्ड प्राप्त गरेका हुन् । कोरोना महामारीले आर्थिक क्षेत्रमा पारेको प्रभाव न्यूनीकरणका लागि तिलोत्तमा नपामा कोभिड–१९ उद्धार र सामाजिक–आर्थिक प्रतिकार्य परियोजना सञ्चालनमा छ । उद्यमशीलतामा लागेका युवालाई प्रवद्र्धन गर्न रु एक लाख पुरस्कार राशिको अवार्ड प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले विसं २०७७ कात्तिक २८ गते अवार्डका लागि प्रस्ताव आह्वान गरेकामा प्रारम्भिक चरणमा १७ वटा प्रस्ताव छनोट भएका थिए । छनोट भएका प्रस्तावकदाताले पेश गरेको आफ्नो व्यावसायिक योजनासहितको प्रस्तुतिको मूल्याङ्कनबाट १० उद्यमी अवार्डका लागि छनोट भएका हुन् । विषयविज्ञ, व्यावसायिक प्रतिनिधिसमेतको सहभागिता रहेको मूल्याङ्कन समितिले १० उद्यमीलाई अवार्डका लागि छनोट गरेको नगरपालिकाका शाखा अधिकृत माधव पोखरेलले जानकारी दिनुभयो ।

अवार्ड प्राप्त गर्ने उद्यमीमा तिलोत्तमा एग्रो फार्मका ईश्वरी ज्ञवाली, द प्लान्ट स्टेशनका समिर ज्ञवाली, सफल सवारी सेवा प्रालिका रोशन खनाल, माई सिभीका सौरभ खनाल, तु–सेवाका रमेश ढकाल, वेवरी तरकारी उत्पादक कृषक समूह, अनलाइन ग्रोसरीका सिजन अर्याल, कुखुरापालन व्यवसायी दुर्गाकुमारी राना, मिटमार्टका तेजराज थापा र इन्नोभेटिभ इम्प्लोयमेन्ट एण्ड कन्सल्टेन्टका कुशल डुम्रे रहेका छन् ।

छनोटमा परेका उद्यमीले प्रतिप्रस्ताव रु एक लाख प्राप्त गर्नुका साथै नगरपालिका कार्यालयबाट व्यवसाय दर्ता, तालिम, सहुलियत कर्जा, नियमित परामर्श, यान्त्रिकीकरण र बजारीकरणलगायतका विषयमा सहयोग प्राप्त हुनेछ । युवालाई व्यवसायमा जोड्दै रोजगारीका अवसर बढाउँदै लैजाने नीतिअनुरुप नगरपालिकामा उद्यमशीलता तथा नवप्रवर्तन कोष स्थापना गरिएको बताउँदै नगरप्रमुख वासुदेव घिमिरेले नवउद्यमीको सहजीकरणका लागि नगरपालिका छुट्टै शाखा स्थापना गरिन थालिएको जानकारी दिनुभयो ।

युवामा उद्यमशीलताको विकास गराउन नगरपालिकाले बिनाधितो ऋणदेखि निःशुल्क विभिन्न तालिमको व्यवस्था मिलाएको बताउँदै नगरप्रमुख घिमिरेले तिलोत्तमालाई उद्यमशील युवाको नगर बनाउन चाहेको बताउनुभयो ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ६ : १९ बजे