काठमाडौं उपत्यकाका बढ्दै संक्रमण, यस्तो छ प्रशासनको तयारी



पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ । उपत्यकामा भिडभाड धेरै हुँदा संक्रमणदर बढ्दैभन्दै निषेधाज्ञा लम्ब्याइने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले उपत्यामा विभिन्न कारणले संक्रमण र मृत्युदर बढिरहेकाले लम्बिने निषेधाज्ञामा कुन–कुन प्रावधान फेरबदल गर्ने वा पहिलेकै निषेधाज्ञालाई निरन्तरता दिने भन्नेबारे निर्णय गरिने बताए ।

“पछिल्लो समय थप गरिएको निषेधाज्ञा सकिन अझै दुई दिन बाँकी छ । विभिन्न कारणले संक्रमण र मृत्युदर बढिरहेको छ । यसको समीक्षा भोलि ७ गते सोमबार हुनेछ,” प्रजिअ निरौलाले भने, “लम्बिने निषेधाज्ञामा कुन–कुन प्रावधान फेरबदल गर्ने वा पहिलेकै निषेधाज्ञालाई निरन्तरता दिने भन्नेबारे निर्णय गरिनेछ । अनावश्यक भिडभाड नियन्त्रण, स्वास्थ्य मापदण्ड पालना भए/नभएको अनुगमन भइरहेको छ । कतिपय बेलामा हामीले सर्वसाधारणलाई छुट दिएका छौँ । हाम्रो प्राथमिकता भनेको सर्वसाधारणलाई सहजीकरण गर्ने नै हो । यसर्थ, पहिलाको जस्तै भयावह स्थिति आउन नदिन प्रशासन कटिबद्ध छ ।”

उनका अनुसार निषेधाज्ञा थप्ने र आदेश परिवर्तन गर्नेबारे अहिले नै केही भन्न सकिने अवस्था नरहेको बताए । ।

“यसबारे सरोकारवाला निकायहरूसँग भोलि नै छलफल हुनेछ । निषेधाज्ञा जारी राख्ने र हटाउने अधिकार प्रशासनलाई भए पनि यसबारे सम्बन्धित सरोकारवाला निकायसँग छलफल गर्नुपर्ने हुन्छ । त्यसैले अहिले नै केही भन्न सकिने अवस्था छैन,” उनले भने ।

भिडभाड नियन्त्रण गर्न आकस्मिक र प्रभावकारी अनुगमन भइरहेको प्रशासनको दाबी छ । अनुगमनको क्रममा आदेशको पालना नभएको पाइएमा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारबाही हुने व्यवस्था छ । यदि, संक्रमणदर बढ्न गएमा प्रशासनद्वारा जारी गरिएको आदेश फेरबदल गर्न सकिने व्यवस्था छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकानुसार हाल काठमाडौं उपत्यकामा मात्रै कोरोनाका ११ हजार ४३६ जना सक्रिय संक्रमित छन् ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञामा राति ८ बजेपछि अत्यावश्यकबाहेकका सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । उक्त निषेधाज्ञा आउँदो मंगलबार राति १२ बजे सकिँदै छ ।

 

प्रकाशित मिति : भाद्र ६, २०७८ आईतबार  १२ : ४५ बजे