प्रस्ताविक नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक चलिरहेको चन्द्रागिरि हिल्स रिसोर्टलाई स्पष्टीकरण सोधेको छ।
मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाका बेला रिसोर्टमा भिडभाड भएको भन्दै चन्द्रागिरि हिल्स रिसोर्टलाई स्पष्टीकरण सोधेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्थानियको गुनासो आएकोले स्पष्टीकरण सोधेको बताए।
सोमबार बेलुकीदेखि चन्द्रागिरि रिसोर्टमा प्रस्ताविक नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता कार्यकर्ताहरु बसेको छन्। उनिहरु बुधबारसम्म उतै बस्ने भएका हुन् ।
अध्यक्ष माधवकुमार नेपालसहित सांसद र केन्द्रीय सदस्य गरेर करिब १०० जना नेताहरू चन्दागिरि हिल्स रिसोर्टमा बसेका छन्।
‘रिसोर्टमा भिडभाड भयो भन्ने गुनासो आएको छ, के भएको हो भनेर सोधिएको हो,’ प्रजिअ पराजुलीले भने।
उनले रिसोर्ट प्रशासनलाई फोन गरेर निषेधाज्ञाका बेला भिडभाड भएकोबारे सोधेका थिए।
काठमाडौं प्रशासनले कोरोना संक्रमण जारी नै रहेको भन्दै निषेधाज्ञा लागु गरिरहेको छ। काठमाडौं प्रशासनकै एक अधिकारीले भने खोप लगाएको कार्डको आधारमा केही मानिस भेला हुन दिन सकिन्छ भन्ने स्वास्थ्यकर्मीहरूबाट सल्लाह तथा सुझावहरू आइरहे पनि प्रशासनले यो नियम भने लागु गरिसकेको छैन।








