कहिलेदेखी सुधार हुन्छ मौसम, के भन्छन् मौसमविद



मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावका कारण मंगलबारबाट मौसममा सुधार आउने भएको छ।

मौसमविद राजु प्रधानाङ्गका अनुसार नेपालको तराई भू भाग नजिक रहेको न्यून चापीय रेखाका कारण देशभर वर्षा भइरहेको छ।

“मंगलबारबाट मौसममा केही सुधार आउने देखिन्छ,” प्रधानाङ्गले भने, “आज र भोलि सबै प्रदेशमा वर्षा हुने देखिन्छ। केही स्थानमा भारी वर्षाको सम्भावना छ।”

मनसुनको समयमा सक्रिय रहने न्यून चापीय रेखा उत्तर-दक्षिण सरिरहन्छ। उत्तरतर्फ आउँदा नेपालमा मनसुन सक्रिय हुन्छ भने दक्षिणतर्फ जाँदा निष्कृय हुन्छ।

महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही  स्थानमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज देशका अधिकांस भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

आइतबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : भाद्र १३, २०७८ आईतबार  १ : ४१ बजे