मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश २ : जसपाका ११ प्रदेशसभा सदस्यद्वारा लोसपाको पक्षमा सनाखत



प्रदेश नम्बर २ का जनता समाजवादी पार्टी नेपालमा रहेका ११ जना प्रदेशसभा सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा सनाखत गर्नुभएको छ । उहाँहरूले निर्वाचन आयोगको प्रदेश कार्यालय, जनकपुरधाममा पुगेर लोसपाको पक्षमा सनाखत गर्नुभएको हो ।

लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, नीलम देवी भूमिहारिन, अलका झा, गौरीनारायण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो रहनुभएको निर्वाचन कार्यालयका प्रमुख पुष्पाकुमारी झाले जानकारी दिनुभयो । प्रदेश २ को प्रदेशसभामा तत्कालीन समाजवादी पार्टीबाट ३० र तत्कालीन राजपाको तर्फबाट २५ गरी जसपाको कूल ५५ प्रदेशसभा सदस्य हुनुहुन्थ्यो ।

लोसपाका पक्षमा जसपाका १४ जना प्रदेशसभा सदस्य खुलेका छन् । एक नेताका अनुसार जसपाका १४ जना लोसपामा खुलेर सनाखत गर्न तयार रहेको र थप चार जनालाई आफ्नो पक्षमा सनाखत गराउन प्रयास भइरहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी रोज्नुभएका प्रदेशसभाका सदस्य जीतेन्द्र सोनलले बाँकी प्रदेशसभाका सदस्य बाहिर रहनुभएकाले भोलि सनाखत गर्नुहुने बताउनुभयो । उहाँले अन्य सांसद बिहीबार र शुक्रबार सनाखतका लागि निर्वाचन कार्यालय पुग्ने बताउनुभयो ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ८ : ०९ बजे