म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति गरेर दुई लेनको बनाइने भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार, सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।
मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी कोरिडोरअन्तर्गत पर्छ । विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको एपेक्स–खड्का–कृष्ण जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले प्रारम्भिक चरणको काम सुरु गरेको सञ्चालक अमृत दाहालले बताउनुभयो ।
“हाल कालोपत्रे सहित करिब छ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्रे गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “सडकको डिल र कुनातर्फ पर्खाल निर्माण गर्ने योजना छ ।”
मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरल्ला, मालढुङ्गादेखि बागलुङ र पर्वत दुवैतर्फबाट समानान्तर रुपमा काम भइरहेको छ । बागलुङ र पर्वत मध्य कुन जिल्लाको सडकलाई कोरिडोरमा समावेश गर्ने भन्ने लामो समयदेखिको अन्यौल गत वर्ष हटेपछि पर्वतबाट निर्माण हुन लागेको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो ।
विसं २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्रे भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो । सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले सवारी साधन आवतजावत प्रभावित हुने गरेका छन् ।
बर्खामा पहिरोले दैनिकजसो अवरुद्ध हुने सडकमा यात्रा गर्दा धेरै समय लाग्ने, गाडी परिवर्तन गर्दा झञ्जट हुने, दुर्घटनाको जोखिम र सास्ती भएको धाइरीङका हरि आचार्यले बताउनुभयो । सिङ्गो म्याग्दी र मुस्ताङ जिल्लाको साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने मालढुङ्गा–बेनी सडक पर्यटकीय, व्यापारिक र धार्मिक हिसाबले सम्भावनायुक्त छ ।