बीपी प्रतिष्ठानको उपकुलपति कार्यालयमा एमालेका कार्यकर्ताले गरे तोडफोड



धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा तोडफोड भएको छ ।

काम बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएको भन्दै राजनीतिक दल सम्बद्ध कार्यकर्ताहरुले प्रदर्शन गर्दै उपकुलपतिको कार्यालयमा तोडफोड गरेका हुन् ।

सरकारले सहमति पालनामा चासो नदिएको भन्दै आइतबारदेखि बीपी प्रतिष्ठानमा सुधारको माग गर्दै चिकित्सकहरुले आकस्मिक बाहेकका काम छाडेका छन् ।

काम छाडेको विरोधमा लिम्बुवान, एमाले र राप्रपा सम्बद्ध युवाहरुले प्रदर्शन गर्दै उपकुलपति कार्यालयमा तोडफोड गरेका हुन् । आन्दोलनरत चिकित्सकहरुले लगाएको ताला प्रदर्शनकारीले फोडेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाका अनुसार सोमबार दिउँसो केही समय प्रदर्शन भएपछि अहिले अवस्था सामान्य रहेको बताए ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ३ : १२ बजे