गएराति काठमाडौँ उपत्यकामा यो वर्षको सबैभन्दा धेरै पानी परयो जुन पाँचदशक यताको तेस्रो ठूलो वर्षा हो । रातभरि परेको पानीले काठमाडौँका विभिन्न स्थानमा डुबानसमेत भएको थियो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौँमा गएराति २४ घण्टामा १२१।५ मिमी वर्षा भएको छ । उपत्यकाका विभिन्न नदी र खोला किनारामा देखिएको डुबानको अवस्था हेरेर कतिपयले यसलाई हालसम्मकै ठूलो वर्षा भने पनि विगत ५३ वर्षको अवधिमा रेकर्ड गरिएको तथ्याङ्क हेर्दा यो हालसम्मको तेस्रो ठूलो वर्षा हो ।
सन् १९६८ देखि २०२१ सम्मको तथ्याङ्क केलाउँदा २००२ को जुलाई २३ मा सबैभन्दा बढी २४ घण्टामा १७७ मिमी वर्षा भएको देखिन्छ । त्यसपछिको ठूलो वर्षा सन् १९८७ मा १२४ मिमी वर्षा भएको विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले जानकारी दिनुभयो ।
उपत्यकाका नदी र खोला क्षेत्र मिचेर साँघुरा पारिएको र वर्षाको पानी जमिनले सोस्ने जमिन कम भएका कारण बढी डुबान देखिएको उहाँको भनाइ छ । गएरातिको अविरल वर्षाले काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ । काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायत क्षेत्र डुबानमा परेको नेपाल प्रहरीले जनाएको छ ।
यस्तै अविरल वर्षाले वाग्मतीको किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर र उत्तरगया क्षेत्र डुबानमा परेको छ । रुद्रमतीमा आएको बाढीले रातोपुल मैतीदेवी क्षेत्रका केही घरसमेत डुबानमा परेका थिए । आइतबार रातिदेखि सोमबार बिहानसम्मको वर्षाले उपत्यकाका धेरै स्थान प्रभावित भएको छ ।
काठमाडौँ उपत्यकामा मुख्यगरी वाग्मती नदी र यसका सहायक तथा उपसहायक नदी विष्णुमति, मनोहरा, नख्खु, बल्खु, धोविखोला, टुकुचा, हनुमन्ते, महादेव खोला, गोदावरी र कर्मनाशा बग्ने गर्छन् । यी सबै नदी तथा खोलामा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले विसं २०६६ देखि अतिक्रमण रोक्न नदीका दुवै किनारामा तटबन्ध निर्माण गरिरहेको छ । साथै नदीको पानी शुद्धताका लागि दुवै किनारमा ढलको पाइप निर्माणसमेत भइरहेको समितिका सूचना अधिकारी कमल अर्यालले जानकारी दिनुभयो ।
यस्तै उत्तर पश्चिमी बङ्गालको खाडीमा अवस्थित न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्फयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना रहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मङ्गलबारसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने साथै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश १, वाग्मती तथा लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले सामान्य सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।