तालिबानले प्रदर्शनकारीमाथि दमन गर्दा चार जनाको मृत्युु :मानबअधिकारको पालना गर्न राष्ट्रसङ्घको आग्रह



अफगानिस्तानका विभिन्न स्थानमा महिला अधिकार र स्वतन्त्रताका पक्षमा प्रदर्शनहरू भइरहेका छन्अफगानिस्तानमा तालिबानले उसको विरोध गर्दै प्रदर्शनमा भेला भएका मानिसमाथि हिंसात्मक बल प्रयोग गरेर दमन गरेको भन्दै संयुक्त राष्ट्रसङ्घले भर्त्सना गरेको छ।

राष्ट्रसङ्घका अनुसार तालिबानको दमनमा पछिल्ला प्रदर्शनहरूमा चार जनाको मृत्यु भइसकेको छ।झन्डै एक महिनाअघि राजधानी काबुल तालिबानको नियन्त्रणमा पुगेपछि अफगानिस्तानका विभिन्न स्थानमा महिला अधिकार र स्वतन्त्रताका पक्षमा प्रदर्शनहरू भइरहेका छन्।प्रदर्शनकारीमाथि तालिबान लडाकुले लाठी र कोर्रा प्रहार गर्नुका साथै गोली पनि चलाएको राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख छ।

शान्तिपूर्ण भेला हुन पाउने अधिकार प्रयोग गरिरहेका मानिसहरू र आन्दोलनको समाचार सङ्कलन गरिरहेका पत्रकारमाथि बल प्रयोग र स्वेच्छाचारी रूपमा नियन्त्रणमा लिने काम तत्कालै रोक्न तालिबानलाई हाम्रो आग्रह छ, राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तका प्रवक्ताले एउटा वक्तव्यमा भनेकी छन्।

राष्ट्रसङ्घकी प्रवक्ता रविना शामदासानीले शुक्रवार भएको एक पत्रकार सम्मेलनमा तालिबानले बल प्रयोग गरेकोमा आलोचना गरेकी छन्।उनका अनुसार गत अगस्ट १५ पछि प्रदर्शनहरू बढ्दै गएका थिए तर तालिबानले बुधवारबाट अनधिकृत भेलाहरूमा प्रतिबन्ध लगाएको छ भने बिहीवारबाट मोबाइल इन्टरनेट बन्द गर्न दूरसञ्चार कम्पनीहरूलाई आदेश दिएको छ।

राष्ट्रसङ्घको विज्ञप्तिमा विगत केही साता विरोधप्रदर्शन दमन गर्न भएका हिंसात्मक बल प्रयोगमा एक बालकसहित चार जनाको मृत्यु भएको उल्लेख छ।राष्ट्रसङ्घले पत्रकारहरूमाथि भएको हिंसाको पनि आलोचना गरेको छ। यसै साता प्रदर्शनको समाचार सङ्कलनमा क्रममा तालिबानले आफूहरूलाई नियन्त्रणमा लिएर पिट्नुका साथै कोर्रा लगाएको पत्रकारहरूले बीबीसीलाई बताएका थिए।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  २ : ०५ बजे