संखुवासभामा ६ जनाको हत्या आरोपी सार्वजनिक



विराटनगर । संखुवासभामा भएको सामूहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्लाको मादी नगरपालिका–१, उम्लिङमा भदौ २१ गते बिहान तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको वीभत्स हत्या घटनामा संलग्न भनिएका २६ वर्षीय लोकबहादुर कार्कीलाई चैनपुरमा आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआईजी अरुणकुमार बिसीले लोकबहादुरले हत्या गर्दा प्रयोग गरेको कपडा र प्रयोग गरेको वस्तु फरेन्सिक जाँचको लागि पठाइएको जानकारी दिए ।

डीआईजी बिसीले भने, “अभियुक्तले एउटै चिर्पट प्रयोग गरेको रहेछ । त्यसलाई अगेनोमा ल्याएर डढाएको रहेछ । एउटै चिर्पटले बारम्बार टाउकोमा हान्दा एकै प्रकृतिको चोटबाट सबैको मृत्यु भएको अनुसन्धानबाट देखिएको छ ।” प्रहरीको विभिन्न तहबाट खटिएको टोलीकै कारण हत्यारासम्म पुग्न सफल भएको बिसीले बताए ।

प्रहरीले शुक्रबार नै छिमेकी तथ नातामा भतिज पर्ने लोकबहादुरलाई पक्राउ गरेको थियो । आफूमाथि तेजबहादुरले बारम्बार गरेको अपमानको बदला लिन पहिले उनको हत्या गरेको र पछि परिवारका सदस्यले समेत देखेको हुनाले सबैलाई पालैपालो हत्या गरेको कार्कीले स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ । सुरुमा तेजबहादुरको हत्या गरेको र त्यसलाई लुकाउन अरूको हत्या गरेको बयान उनले दिएका छन् ।

मादी नगरपालिका–१, उम्लिङको खोला गाउँमा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरकै ११ वर्षीय नाति दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो । घटनामा परिवारका सातजनामध्ये आँखा कम देख्ने र कम सुन्ने बौद्धमान मात्र जीवित छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ११ : ५९ बजे