मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा टेलिकमको फोरजी सेवासहितको टावर सञ्चालन



जिल्लाको विभिन्न १८ स्थानमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ । जिल्लाका दशवटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले पहिलो चरणमा जिल्ला विभिन्न १८ स्थानमा सञ्चालनमा ल्याएको हो ।

दिक्तेलस्थित टेलिकमको कार्यालय, रत्नपार्क, हलेसी, च्यास्मिटार, बाहुनीडाँडा, सिम्पानी, खोटाङबजार, सावाकटहरे, चिसापानी, बराहपोखरी, मात्तिमबिर्ता, खिदिमा, बाँझेच्यानडाँडा, दोर्पाबुवालुङ, फेदी बाक्सिला र बुइपामा जडान गरिएको टावर सञ्चालनमा आएको नेपाल टेलिकम खोटाङका कार्यालय प्रमुख खगेन्द्र मगरले बताउनुभयो । “नमस्ते मोबाइलका सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै टेलिकमले गत आर्थिक वर्ष जिल्लाका २८ स्थानमा टेलिफोन टावर जडानको काम थालेको थियो”, उहाँले भन्नुभयो, “जडान गरिएकामध्ये पहिलो चरणमा १८ वटा सञ्चालन गरिएको छ । निर्माणाधीन दशवटा पनि चाँडै सञ्चालन गर्ने तयारी गरेका छौँ ।”

दोस्रो चरणमा बतासे, छितापोखरी, खार्पा, दुवेकोल, ऐंसेलुखर्क, पाथेका, मेरुङ, मुडे र आमचोकमा जडान गरिएका टेलिफान टावर सञ्चालन गर्ने तयारी गरिएको टेलिकम खोटाङका कार्यालय प्रमुख मगरले बताउनुभयो । “टेलिफोन टावरका लागि आवश्यक सामग्री ल्याई सकिएको छ”, उहाँले भन्नुभयो, “अहिले जिल्लाका ग्रामिण सडक अवरुद्ध रहेकाले निर्माणस्थल पु¥याउन सकिएको छैन । दसरतिहारलगत्तै बाँकी दशवटै ठाउँका टेलिफोन टावर सञ्चालनमा ल्याउँछौँ ।”

नेपाल टेलिकम खोटाङका अनुसार यस वर्ष जिल्लाका थप तीन ठाउँमा टेलिफोन टावर जडानका लागि केन्द्रबाट कार्यक्रम आएको जनाइएको छ । सल्ले, राजापानी र लिच्किराम्चेमा यस वर्ष टेलिफोन टावर जडानका लागि केन्द्रबाट थप कार्यक्रम आएको कार्यालय प्रमुख मगरले जानकारी दिनुभयो ।

नेपाल टेलिकमले जिल्लामा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याएपछि अधिकांश भेगका सेवाग्राही लाभान्वित भएका छन् । जिल्लामा जडान गरिएका टेलिफोन टावरलाई प्रभावकारी बनाउन केन्द्रीय प्रशारण लाइनको विद्युत्का साथै सोलार प्यानेल जडान गरिएको टेलिकमले जनाएको छ । जिल्लाका अधिकांश भेगमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याएपछि दुई नगर र आठ गाउँपालिका रहेको जिल्लामा नमस्ते मोबाइल प्रयोग गर्ने सेवाग्राहीको सङ्ख्यासमेत वृद्धि हुँदै गएका छन् । गाउँगाउँमा फोरजीसहितको नमस्ते मोबाइल सेवा सञ्चालन भएपछि जिल्लामा रिचार्ज कार्डमात्रै रु दुई करोड बढीको खपत हुने गरेको कार्यालय प्रमुख मगरले जानकारी दिनुभयो ।

टेलिकमले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका साथै धार्मिक तथा पर्यटकीयस्थल हलेसी, चिसापानी, एेंसेलुखर्क र खोटाङबजारमा ल्याण्डलाइन टेलिफोन विस्तार गरेको छ । जिल्लाका विभिन्न ठाउँमागरी करिब ६०० उपभोक्ताले टेलिकमको एडिएसएल सेवा लिएको जनाइएको छ ।

जिल्लामा इन्टरनेट सेवालाई समेत प्रभावकारी बनाउन पहल थालेको टेलिकमले पछिल्लो समय दिक्तेल बजारमा फाइबर विस्तारको कामसमेत तीव्रगतिमा अगाडि बढाएको छ । दसैँ÷तिहारलगत्तै सेवाग्राहीलाई फाइबर सेवा वितरण गर्ने लक्ष्य लिएको टेलिकमले दिक्तेल बजारमा तार टाँग्ने काम सम्पन्न गरिसकेको छ ।

दिक्तेल बजारमा फाइबर सेवा सुरु भएपछि इन्टरनेटमा कुनै समस्या नआउने कार्यालय प्रमुख मगरले बताउनुभयो । “जिल्लामा विस्तार गरिएका एडिएसएल सेवामा समेत बेलाबखत समस्या देखिने गरेको छ”, उहाँले भन्नुभयो, “फाइबारमार्फत वितरण गरिने इन्टरनेट छिटो चल्नुका साथै अवरुद्ध हुने सम्भावना कम हुन्छ ।”

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ९ : ५५ बजे