मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोरखा दरबारको दशैघरमा विधिपूर्वक राखियो जमरा



गोरखाको कालिका मन्दिरमा रहेको दसँै घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ११ बजेर ४६ मिनेटको शुभसाइतमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो ।

परम्पराअनुसार बिहान सबेरै (बिहान नाडीको रौँ देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको उहाँले बताउनुभयो । कालिका भगवती मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको प्रमुख भुसालले जानकारी दिनुभयो ।

यसअघि मूल दरबारको कैलाश कोठाबाट भित्री बाटो हँदै देवी भगवतीका सवारी गराउने प्रचलन रहँदै आएको भए पनि भूकम्पले मूल दरबारमा पूर्ण क्षति पुगेकाले कैलाश कोठाको स्थापना गरी देवीको सवारी गराइएको कालिका मन्दिरका मूल पूजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो । जमरा राख्नुअघि मूल दरबारमा नै पानी घडी स्थापना गर्नुपर्ने प्रचलन रहेको भए पनि दरबार जीर्णोद्धारका लागि भत्काइएकाले नयाँ स्थानमा पानी घडी स्थापना गरी घटस्थापना गरिएको उहाँले बताउनुभयो ।

गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मालम्बीले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहँदै आएको छ । बडादसँैमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ । प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित रुपमा कालो बोका बलिदिने प्रचलन रहँदै आएको छ ।

यस्तै घटस्थापनाका बिहानको शुभसाइतमा गोरखाको मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका पूजारी इन्सान थापाले जानकारी दिनुभयो । मनकामना मन्दिरमा भने मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उहाँले बताउनुभयो । परम्परा अनुसार विगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नुपर्ने भएका कारण सोही अनुसार नित्य पूजा गरी जमरा राखिएको मूलपूजारी थापाले जानकारी दिनुभयो । गणेश र कलस स्थापना गरी दुवै ठाउँमा जमरा राखिएको उहाँको भनाइ छ ।

कोरोना सङ्क्रमणको जोखिम कायमै रहेका कारण मन्दिरमा सर्वसाधारणका लागि खुला गरिएको भए पनि घटस्थापनाका दिन ठूलो भीडभाड हुने जिल्लाका सबैजसो शक्तिपिठ मनकामना मन्दिर, कालिका मन्दिर, गोरखनाथ गुफा अघिल्ला वर्षमा जस्तो भक्तजनको भीडभाड भने कम रहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ६ : ४६ बजे