दसैँको कोशेली : चाउचाउदेखि कोल्ड ड्रिङ्ससम्म



राई समुदायमा चाडवाडका समयमा आफन्तकहाँ पाहुना जाँदा कोसेली स्वरुप जाँडरक्सी, भुटेको मासु, सेल रोटी, फलफूललगायत लैजाने प्रचलन छ । कोसेलीपातमध्ये जाँड रक्सी अनिवार्य प्रयोग हुन्छ । तर, समयक्रमसँगै कोसेली संस्कृति फेरिँदो छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको च्यास्मीटार, बाहुनीडाँडा, डिकुवा, बडहरे, दुर्छिमलगायतका स्थानमा पछिल्लो समय कोसेलीपातमा जाँड रक्सीसँगै ड्यु, कोक, चाउचाउ, बिस्कुट लगायतका जङ्कफुडको अधिक प्रयोग हुन थालेको छ ।

दसैं तिहार, साकेला लगायतका चाडबाडका बेला भेटघाटमा आएका चेलीबेटीले झोलामा केही बोतल ड्यू र कोकका साथमा बिस्कुट, चाउचाउ, मिठाइ, चकलेट ल्याउने÷लैजाने गरेका छन् । सहजरूपमा जताततै पाइने र जाँडरक्सी नखानेका लागि भन्दै ड्यू, कोक लगायतका कोसेली अधिक मात्रामा प्रचलनमा आएको हो ।

यसवर्षका दसैँमा टीका थाप्नका लागि आउने पाहुनाले रक्सीसँगै ड्यू, कोक, बिस्कुट, चाउचाउ लगायत कोसेली ल्याएको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका रहरमान राईले बताए ।सडकको सहज पहुँच विस्तारसँगै पहाडी क्षेत्रका बजार तथा पसलमा ड्यू, कोक, बिस्कुट, चाउचाउ पाउन थालेपछि यसलाई कोसेलीका रूपमा पनि प्रयोग गर्न थालिएको हो । हलेसी तुवाचुङ नगरपालिका लगायतका पालिकामा करिब एक÷दुई दशकदेखि कोसेलीका रूपमा ड्यू, कोक, बिस्कुट, चाउचाउ प्रयोगमा आएको अनुमान छ ।

विगतका समय पेयपदार्थ बोक्नका लागि सिसाको बोतल प्रयोग गर्ने गरिएकामा हाल पेयपदार्थ बोक्नका लागिसमेत ड्यू, कोकको बोतल प्रयोग हुन थालेको पाइएको छ ।गाउँघरमा ड्यूका जम्बो बोतलमा पानीसमेत ओसार्ने गरिएको देख्न सकिन्छ । कोसेलीपातका लागि एउटै टोलमा लाखौंको ड्यू, कोकजस्तो कोल्ड ड्रिङ्स खरिद हुने गरेको अनुमान गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाका अधिकांश वडालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । सो क्षेत्रमा पिउने पानीको चरम अभाव छ । सोही कारण पिउने पानी मागिए ‘डयू पिउन’ आग्रह गर्ने गरिएको छ ।

प्रकाशित मिति : आश्विन ३१, २०७८ आइतबार  १ : ०० बजे