भारी वर्षा र हिमपातको सम्भावना,ट्रेकिङमा नजान मौसमविद्को आग्रह



बंगालको खाडी र मध्य भारतमा रहेका न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले देशभरको मौसम मंगलबार सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १ र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा समेत भएको छ । पाकिस्तान, भारत हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायु अहिले नेपालको पूर्वी भागतर्फ सरिरहेको छ । यो वायु सुस्त गतिमा अघि बढ्ने भएकाले नेपालमा अझै केही दिन प्रभाव रहने मौसमविद् मञ्जु बसीले ब ताइन ।

काठमाडौँ उपत्यकामा बदली रहनुका साथै हल्का वर्षा समेत भइरहेको छ । उपत्यकाको आकाशमा बिहानैदेखि कुहिरो लागेको छ । देशको पश्चिमी भेगमा भारी वर्षा भएको छ । महाशाखको पछिल्लो विवरणमा दिपायलमा १६६, डडेलधुरामा १५५, घोराहीमा १३३, भैरहवामा ११२, धनगढीमा ९० र पोखरामा ५६ मिलिमिटर वर्षा भएको छ ।

मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

वर्षासँगै उच्च पहाडी भू–भाग र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ । भारी हिमपातको सम्भावना नरहे पनि हल्का हिमपातको सम्भावना छ । हिमपातको सम्भावना रहेकाले तत्काल ट्रेकिङ नगर्न मौसमविद्को सुझाव छ । हिमपातको सम्भावना रहेका क्षेत्रमा ट्रेकिङ नगर्न मौसमविद्ले आग्रह गरेका छना ।

प्रकाशित मिति : कार्तिक २, २०७८ मंगलबार  ९ : ३६ बजे