मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापा र सुनसरी झर्ने बाध्यता हट्यो,अब सवारी चालक अनुमतिपत्रको परीक्षा इलाममै



२९ कार्तिक इलाम । सवारी चालक अनुमतिपत्रको परीक्षा अब इलाममा नै सञ्चालन हुने भएको छ । लाइसेन्सका लागि लिखित र प्रयोगात्मक दुवै परीक्षा इलाममा नै हुने भएपछि पूर्वी पहाडी चार जिल्लाका सेवाग्राहीलाई सहज हुने भएको छ ।

इलाममा नै सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’को परीक्षा हुने भएपछि सेवाग्राही उत्साहित भएका छन् । यसअघि सवारी लाइसेन्स लिन तराईसम्म झर्नुपर्ने बाध्यता थियो ।

इलामसहित पाँचथर, ताप्लेजुङ र तेह्रथुमका सेवाग्राहीले अब भने सहजै सेवा लिन पाउने भएका छन् । यसअघि उनीहरू झापाको विर्तामोड र सुनसरीको इटहरी यातायात कार्यालयसम्म पुगेर महिनौंसम्म कुर्नुपर्थ्यो ।

सातामा तीन पटक परीक्षा सञ्चालन गरिने सवारी लाइसेन्सको अनलाइन फाराम भर्न र परीक्षा सञ्चालन गर्न मन्त्रालयबाट अनुमित प्राप्त भइसकेको कार्यालयका सूचना अधिकारी रविन्द्र श्रेष्ठ बताउनुहुन्छ ।

यद्यपि आवश्यकता अनुसार दरबन्दीका कर्मचारीको भने अभाव रहेको कार्यालय प्रमुख छविलाल खतिवडाको भनाइ छ । दरबन्दी थपिने बित्तिकै काम सुरु गरिने उहाँको भनाइ छ ।

कार्यालयले आफ्नै ट्रायल सेन्टर नभएका कारण निजी कम्पनीसँग सम्झौता गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । जस्का लागि निजी कम्पनीले ट्रायल गर्ने स्थान निर्माण गरी तयारी अवस्थामा राखेको छ ।

इलामस्थित कार्यालयले यसअघि लाइसेन्स नवीकरण, नयाँ सवारी दर्ता नामसारी, सवारी दर्ता प्रमाण नवीकरण, बाटो इजाजत पत्र जारी गर्ने र नवीकरण गर्ने, सवारी साधनको प्राविधिक परीक्षण जाँचपास गर्ने, सवारी साधनको प्रदुषण परीक्षण गर्ने, सेवाग्राहीबाट सवारी साधनको कर राजश्व बुझिलिने लगायतको काम गर्दै आएको थियो ।

त्यसैले पनि जनताको घरदैलोबाटै सेवा लिने अधिकारलाई सुनिश्चित गर्न पनि सवारी चालक अनुमतिपत्रको परीक्षा इलामबाटै गर्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याउन ढिलाइ गर्न हुँदैन ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ७ : ३५ बजे