प्युठान, ७ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्युठानमा जिल्ला सभापतिको अधिवेशनमा तनाव भएको छ । स्वर्गद्वारी क्याम्पसमा अधिवेशन सम्पन्न भई मतगणना भइरहेका बेला तनाव भएको हो ।
कुल १०६५ मत खसेकोमा ६५ मत गणना गर्न बाँकी रहेका केही युवाले ढुंगामुडासहित अवरोध गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुरग्यास प्रहार गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय प्रमुख सत्यनारायण थापाले भने, ुमतपरिनाम अन्तिम अवस्थामा पुग्दै गर्दा एक जत्थाले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले ५ राउन्ड असुर ग्यास प्रहार गरेको छ । दुईजना प्रहरीसहित ६ जना घाइते भएका छन् ।
उनकाअनुसार एक जना प्रहरी, एक सशस्त्र प्रहरी र अन्य चार जना सर्वसाधारण घाइते भएका छन् । घाइते प्रहरी कर्मचारी चन्द्रबहादुर गाहा मगरलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी भुसालले साँझ नै अवस्था नियन्त्रणमा आएको बताए । तर केही समयका लागि मतगणना रोकिएर पुनः सुरु गरिएको उनको भनाइ छ । वत्तीको व्यवस्था गरेर चुडिएको डोरी मर्मत गरेर सुरु गरिएको निर्वाचन कार्यालयको छ, । बाहिरबाट क्याम्पसमा ढुंगा प्रहार भएपछि घटना भएको उनले जानकारी दिए । उनकाअनुसार घटनामा संलग्न भएको भनेर कसैलाई नियन्त्रणमा लिइएको छैन ।










