मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस महाधिवेशनः लुम्बिनीमा पौडेल पक्षको बर्चश्व, चार जिल्लाको परिणाम बाँकी



नेपाली कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशका जिल्लामा रामचन्द्र पौडेल पक्षको बर्चश्व देखिएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये आठ वटा जिल्लाको परिणाम आइसक्दा पौडेल पक्षको बर्चश्व देखिएको हो ।

लुम्बिनी प्रदेशको रुपन्देही सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत चयन भएका छन् । सभापति पदमा एकल उम्मेदवारी परेपछि खाँण निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए । संस्थापन समूहका नेता खाण गृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणका सहोदर भाइ हुन् । उनी यसअघि जिल्ला सचिव थिए । कतिपय वडादेखि क्षेत्रसम्म दुई समूहमा प्रतिष्पर्धा भएको रुपन्देहीमा जिल्लाको नेतृत्व भने सर्वसम्मत गराउने विषयमा गृहमन्त्री खाँणले पहल गरेका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र प्रतिनिधिसभा सदस्य भरत शाह लगायतसँग छलफल गरेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो । उपसभापतिमा पौडेल पक्षका थानेश्वर घिमिरे र डा। अनिता ढुंगाना शाह पनि निर्विरोध निर्वाचित भएका छन् । सचिवमा हरि प्रसाद काफ्ले र परमानन्द भट्टराई तथा सह–सचिवमा वासुदेव रिमाल र विष्णु थापा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

उता, दाङको अधिवेशनबाट सभापतिमा रामचन्द्र पौडेल निकट शंकरप्रसाद डाँगी विजयी भएका छन् । चार जना उम्मेदवार रहेको दाङमा ५१ प्रतिशत मत कसैले पनि ल्याउन नसकेपछि धेरै मत ल्याउने मध्ये दुई जना भुपबहादुर डाँगी र शंकरप्रसाद डाँगीबीच फेरि चुनाव गर्ने तयारी थियो । तर भुपबहादुरले शंकरप्रसाद डाँगीलाई सभापतिमा समर्थन गरेपछि उनी विजयी भएका हुन् । त्यस्तै उपसभापतिमा गिरिराज सुवेदी र कमानसिंह भारती, सचिवमा बालिका लम्साल र अर्जुनकुमार योगी तथा सहसचिवमा राजु आचार्य र सुवोधकुमार डाँगी विजयी भए ।

त्यस्तै रुकुम पुर्वमा पौडेल पक्षका केशरमान रोका सभापतिमा विजयी भएका छन् भने अर्घाखाँचीमा पनि पौडेल पक्षकै केशव श्रेष्ठले जित हात पारेका छन् । प्यूठान जिल्ला सभापतिमा पनि पौडेल पक्षकै विष्णुकुमार गिरी निर्वाचित भएका छन् । पश्चिम नवलपरासीमा पनि रामचन्द्र पौडेल पक्षकै अर्जुनकुमार पोखरेल जिल्ला सभापति चुनिएका छन् । त्यसैगरी पाल्पाबाट हिमालप्रसाद श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन् । उनी पनि पौडेल निकट हुन् ।

गुल्मीको अधिवेशन भने विवादका कारण स्थगित भएको छ । संस्थापन पक्षले जिल्ला अधिवेशन छापामार शैलीमा गराएको भन्दै पौडेल पक्षले पुनः मतदानको माग गरेको छ । गुल्मीको मुसीकोट मतदान केन्द्रको मतपत्रमा संकेत भेटिएपछि मतदान रोकिएको थियो ।

रोल्पाको सभापतिमा भने किशोर आचार्य यसअघि नै निर्वाचित भइसकेका छन् । उनी पनि रामचन्द्र पौडेल पक्षका हुन् । अन्य पदाधिकारीमा पनि पौडेल पक्षले नै बाजी मारेको छ । उपसभापतिमा कविता उपाध्याय र हरिबहादुर पुन, सचिवमा तिलबहादुर बुढाथोकी र शेरबहादुर थापा तथा सहसचिवमा गन्जबहादुर क्षेत्री र सुनिलकुमार वली निर्वाचित भएका छन् ।

कपिलवस्तुमा सोमबारसम्म परिणाम आइसक्ने छ । कपिलवस्तुमा संस्थापन पक्षका राजेश आचार्य र पौडेल पक्षका अब्दुल कलामबीच सभापतिमा प्रतिष्पर्धा भइरहेको छ । बाँके र बर्दियामा पनि सोमबारसम्म परिणाम आइसक्ने बताइएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ५ : ३२ बजे