मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरालाई ‘खेलकुदको हब’ बनाउन सरकार दृढ : मुख्यमन्त्री पोखरेल



गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्यटकीय सहर पोखरालाई खेलकुदको सहर बनाउन सरकार दृढ रहेको बताउनुभएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चका पदाधिकारीसँग १६औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’का बारेमा आज पोखरामा भएको छलफलमा उहाँले अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा कमाएको म्याराथन सफल बनाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “गण्डकी प्रदेश सरकार पोखरालाई खेलकुदको हब बनाउने कुरामा दृढ छ । पोखरा म्याराथनलाई सफल बनाउने अभियानमा हाम्रो पनि साथ सधैँ रहनेछ ।”

गण्डकी प्रदेश सरकार पोखरा अन्तर्राष्ट्रिय म्याराथनको मुख्य संरक्षकसमेत रहेको छ । सो अवसरमा मुख्यमन्त्री पोखरेलले खेलकुद मन्त्रालय छुट्टै बनाएर खेल पूर्वाधार निर्माण तथा खेलकुद विकासमा काम अघि बढाइएको जानकारी दिनुभयो । उहाँले पूर्वखेलाडीहरूले आफ्नो सीप र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्नसमेत आग्रह गर्नुभयो ।

मुख्यमन्त्रीले भन्नुभयो, “पोखरा खेलकुदको महत्व बुझ्ने थलो भएकाले पनि पोखरा म्याराथनलाई सफल बनाउन यहाँहरुले खेल्ने भूमिकाले म्याराथन सफल हुने कुरामा म विश्वस्त छु । म्याराथनमा अन्तर्राष्ट्रिय खेलाडीहरूको आकर्षणको केन्द्र बनाउन सक्दो पहल गर्न र त्यसतर्फ आफ्ना कार्यक्रम अघि बढाउन म आग्रह गर्दछु ।”

प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तथा मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले पोखरा म्याराथन सफल बनाउन प्रदेश सरकारलाई आग्रह गर्दै समाजमा खेलको महत्वबारे अझै जनचेतना जगाउन आवश्यक रहेको बताउनुभयो । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले १६औँ संस्करणको पोखरा म्याराथन सफल बनाउन प्रदेश सरकारसँग आग्रह गर्नुभयो । मञ्चले आगामी फागुन ७ गते पोखरामा म्याराथनको तयारी सुरु गरेको छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ८ : ०० बजे