मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली समाजको विविधता विश्वका लागि पूँजी : प्रदेश प्रमुख गुरुङ



गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालका विभिन्न जातजाति, भाषाभाषी बीचको विविधता देशका लागि मात्र नभै समग्र विश्वका लागि पूँजी भएको बताउनुभएको छ ।तमु ल्होसार २०७८ का अवसरमा गण्डकी प्रदेश प्रमुखको कार्यालयद्वारा आज प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेपाल बहुजातीय बहुभाषिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको बताउनुभयो ।

जातजातिका भाषा, संस्कृति देशका मौलिक सम्पत्ति भएको उल्लेख गर्दै प्रदेश प्रमुख गुरुङले यिनीहरूको जगेर्ना राज्यको दायित्व भएको बताउनुभयो ।देशमा समावेशी लोकतान्त्रिक संविधान बनेको बताउँदै उहाँले ल्होसार पर्र्वले राष्ट्रमा समाजिक न्याय सहितको समृद्धि हासिल गर्न प्रेरणा मिल्ने बताउनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लामो समयदेखिको एकात्मक व्यवस्थाले राष्ट्रियताको संकुचित परिभाषा गरेको बताउँदै २०६२÷०६३ को जनआन्दोलन पश्चात सबै जाताजाति, भाषभाषी एवम् संस्कृतिबीचको एकतालाई राष्ट्रियताका रुपमा लिइएको धारणा राख्नुभयो । नेपाली विविधताबीच सबैले सामुहिक समर्पणको भावना सिर्जना गर्नुपर्ने बताउँदै उहाँले ल्होसार पर्वले सबैलाई एकतावद्ध हुन प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सबै जातजाति, भाषभाषी र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो ।प्रदेश प्रमुख सचिव हरिप्रसाद बास्तोलाले ल्होसार पर्वले सबैमा सुख शान्ति र समृद्धि ल्याउने कामना गर्नुभयो ।

तमु धी नेपालका अध्यक्ष हुमबहादुर तमुले तमु समूदायको नयाँ वर्षका रुपमा ल्होसार मनाइने बताउँदै गाई वर्गको विदाई र बाघ वर्गको आगमनका रुपमा यस वर्ष ल्होसार मनाउन लागिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  २ : २१ बजे