सार्वजनिक स्थलमा २५ जनाभन्दा धेरै जम्मा हुन बन्देज



कोरोना संक्रमण लगातार बढ्न थालेपछी सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।

बैठकले राजनीतिक भेलाहरू नगर्न आह्वान गरेको छ । गर्नैपर्ने भएमा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने छ ।

गृहमन्त्रालयमार्फत स्थानीय तहसम्म कार्यान्वयन हुनेगरी व्यवस्था मिलाउन सिफारिस गरिएको बताइएको छ ।

माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने छ ।

सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै बैठकले विद्यालयहरूमा माघ १५ गतेसम्म हिउँदे बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

 

प्रकाशित मिति : पुस २५, २०७८ आईतबार  ७ : ३२ बजे