राजनीति र विकासलाई सँगसँगै लैजानुपर्छ: रामचन्द्र पौडेल



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताएका छन्। तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिताको समापन कार्यक्रममा उनले विकासविना राजनीति नहुने बताएका हुन्। ‘विकास र राजनीति एक अर्काका परिपूरक हुन्,’ उनले भने, ‘त्यसैले विकास र राजनीतिलाई सँगसँगै लिएर जानुपर्दछ।’

विकासका क्षेत्रमा पछि परेका ऋषिङमा अहिले विकास निर्माणले गति लिन थालेको उल्लेख गर्दै उनले हिजो हामीले विकास निर्माणको सुरुबात गरेको र आज विकास भएका कारण गाउँको मुहारमा परिवर्तन आएको बताए। गाउँपालिकाले खेलकुदका माध्यमबाट सिंगो गाउँपालिका क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न चालेको कदम सकारात्मक रहेको उल्लेख गरे।

नेता पौडेलले खेलकुद राष्ट्रको गहना भएको बताउँदै यसको संवद्र्धनका लागि राज्यले उचित ध्यान दिन सके सक्षम खेलाडी उत्पादनमा सहज हुनेमा जोड दिए। खेलकुद मानिसको स्वास्थ्यका लागि पनि उत्तिकै महत्त्वपूर्ण भएको उल्लेख गर्दै उनले स्थानीय तहले खेलकुद क्षेत्रलाई प्राथामिकतामा राखेर राष्ट्रियस्तरका खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताए। वरिष्ठ नेता पौडेलले म्याराथन प्रतियोगितामा विजयी हुने खेलाडीलाई नगद, प्रमाणपत्र, मेडल र ट्रफिबाट पुरस्कृतसमेत गरेका थिए।

प्रकाशित मिति : पुस २८, २०७८ बुधबार  ९ : ०४ बजे