प्रदेश २ को नाम र राजधानी टुंग्याउन मतदान सुरु



प्रदेश २ को नाम र स्थायी राजधानीको दलीय सहमति जुट्न नसकेपछि  मतदान सुरु भएको छ ।सभामुख सरोजकुमार यादवले राजधानीका मतदान शुरु गराएका हुन् ।

राजधानीको विषयमा तीनवटा प्रस्ताव मतदानका लागि तय गरेको छ। जसमा जनकपुरधाम (धनुषा जिल्लाको उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग पूर्वमा कमला नदी दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा भित्रको सम्पूर्ण भू-भाग) पहिलो प्रस्ताव हो।

प्रतिवेदनमा राजधानीका लागि जनकपुरधाम उत्तरमा ढल्केबरस्थित पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला मध्यमा परिक्रमा सडक र दक्षिण नेपालको सीमासम्म राखिएको प्रस्तावमा दलहरुबीच सहमति भएको जनाइएको छ ।

त्यसैरि, वीरगञ्जलाई राजधानी बनाउन दुई वटा प्रस्ताव पेस भएको छ । पहिलो महागरपालिका, पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्म र दोस्रो वीरगञ्ज महानगरपालिका भरिलाई राजधानीको रुपमा प्रस्ताव गरिएको छ ।

प्रदेशको नाम र राजधानी सम्बन्धमा प्रदेश सभामा भइरहेको अन्तिम छलफलमा पनि दलहरु पुरानै अडानमा देखिएका छन् ।छलफलमा मधेश केन्द्रित दल जसपा, लोसपा र माओवादी केन्द्र मधेशको पक्षमा लागेका छन् भने कांग्रेस मिथिला भोजपुरा र नेकपा एमालेले जानकी प्रदेशमै आफ्नो पुरानै अडान कायम राखेका छन् । यसरी दलहरुले आफ्ना पुरानै अडानमा अडिग देखिए पनि प्रदेशको नामाकरणमा दुई तिहाई पुग्ने सम्भावना कम देखिएको छ ।

प्रदेश सभामा अहिले सभामुखसहित १०४ जना सासद रहेका छन् । दुई तिहाइको संख्या पुर्‍याउन कम्तिमा ७० प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । मधेशको पक्षमा जसपाको ३९, लोसपाका १६ र माओवादी केन्द्रका ८ गरि ६३ प्रदेश सांसद रहेका छन् । रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी मधेशकै पक्षमा आए पनि दुई तिहाईका लागि ६ मत अपुग हुने देखिन्छ ।

प्रकाशित मिति : माघ ३, २०७८ सोमबार  ३ : १६ बजे