सिरहाको पूर्व–पश्चिम राजमार्ग अन्तरगत सडकमा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले तेल ट्यांकर तोडफोड गरेका छन् । बिहीबार नरहा गाउँपालिकामा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७९८ नम्बरको तेल ट्यांकर तोडफोड भएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध पारी आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले ढुंगामुढा गर्दा ट्याकंरको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ ।घटनामा सम्लग्न जनमत पार्टी महोत्तरीका ६ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।
सरकारले किसानको माग नसुनेको भन्दै पूर्व-पश्चिम राजमार्ग बन्द गराउन आन्दोलनमा उत्रेका ६ जना नेता तथा कार्यकर्तालाई बर्दिबासबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
पक्राउ पर्नेमा जिल्ला उपाध्यक्ष मकसुधन महतोसहित रहेको इलाका प्रहरी कार्यालय गौरिडाँडाका प्रमुख वीरेन्द्र थापाले जानकारी दिए ।
पक्राउ पर्ने अन्यमा पिपरा गाउँपालिकाका धिरेन्द्र साह, बर्दिबास(६ का विनोदकुमार महतो, बलवा नगरपालिका(६ का वडाध्यक्ष नारायण साह, पिपरा गाउँपालिकाका अजितकुमार ठाकुर, गौशाला नगरपालिका(१ का वडाध्यक्ष वीरेन्द्र महतो छन् ।
किसानको आन्दोलनलाई निस्तेज बनाइएको भन्दै प्रदेश सरकारलाई दबाब दिने उद्देश्यले राजमार्ग ठप्प बनाउने कार्यक्रम रहे पनि खासै असर देखिएको छैन । यात्रुलाई कुनै सास्ती नहोस् भन्ने उद्देश्यले सुरक्षाकर्मीहरू बिहानैदेखि सडकमा तैनाथ गरिएको थियो ।










