रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भर्खरै पूर्वी युक्रेनको डोनबास क्षेत्रमा ”सैन्य कारबाही”को घोषणा गरेका छन्।
जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत् पछिल्लो घोषणा गरेका हुन्।
सम्बोधनमा पुटिनले पूर्वी युक्रेनको युद्ध क्षेत्रमा रहेका युक्रेनी सैनिकलाई हतियार बिसाएर ‘आफ्नो घर फर्किन’ सुझाव दिएका छन् ।
कुनै पनि प्रकारको युद्ध भएमा वा रगत बगेमा त्यसको जिम्मेवार युक्रेन हुने चेतावनी पनि उनले दिएका छन् । उनले युक्रेनी सैनिकलाई आत्मसमर्पणका लागि सुझाव दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जबाफ नदिएको बताएका थिए।
राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले ”झन्डै २,००,००० सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको” बताएका छन्।बिबिसिबाट










