रुसी फौज युक्रेनको राजधानी किभनजिकै पुगेको छ । उत्तर, पश्चिम र उत्तरपूर्वबाट घेरा हाल्दै रुसी फौज किभनजिकै पुगेको हो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अाफ्ना सेनासँग दशकौंपछि ठूलो क्षति सामना गरेपछि रुसले नयाँ फौजहरु युक्रेन परिचालन गरेको बताइरहेका बेला रुसी सेना किभनजिकै पुगेको हो ।
रुसी फौजले किभनजिकको गाउँ छाडेर सुरक्षित क्षेत्रतर्फ बढिरहेका महिला र बालबालिकाको समूहमा गोली चलाएको युक्रेनले जनाएको छ । शनिबार युक्रेनका विभिन्न शहरहरुबाट करिव १३ हजार सर्बसाधारणलाई सुरक्षित क्षेत्रतर्फ पठाइएको युक्रेनका उपप्रधानमन्त्रीले जानाकारी दिएका छन् । यो संख्या शुक्रबारको तुलनामा दोब्बर भएको बताइएको छ ।
सर्बसाधरणलाई सुरक्षित स्थानमा लैजाने क्षेत्रमा रुसी सेनाले निरन्तर हमला गरिरहेको किभ र दोनेत्सेकका गर्भनरहरुले बताएका छन् ।यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले द्वन्द्व अन्त्य गर्न वार्तामा रुसले ‘आधारभूत रुपमा भिन्न दृष्टिकोण’ अप्नाएको बताएका छन् । यो दृष्टिकोण पहिलेको वार्ताविपरित भएको उनको भनाई छ ।
यसैबिच रुसी सेनाको रकेट हमलामा भासेलकिभ शहरको एउटा हवाई आधार ध्वस्त भएको स्थानीय मेयरको भनाई उदृत गर्दै इन्टरफ्याक्स युक्रेनले जनाएको छ । रकेट हमलामा हतियारसम्बन्धी डिपो प्रभावित भएको भासेलकिभका मेयरले बताएका छन् ।
रुसी सेनाले युक्रेन हमलालाई तीव्र पारेको छ । अहिले रुसी सेनाले राजधानी किभलाई मुख्य निशाना बनाइरहेको छ । रुसी फौज राजधानी किभबाट केही किलोमिटरको दूरीमा मात्र रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । रुसी सेनाले राजधानीमा रकेट हमला गरेको छ ।रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ । रुसी हमलालाई युक्रेनी सेनाले कडा प्रतिकार गरेको छ । हमलाका कारण युक्रेनबाट २० लाख भन्दाबढी मानिस ज्यान जोगाउन विभिन्न देशमा शरण लिएका छन् ।










