मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनावी गतिविधिमा बालबालिका प्रयोग नगर्न माग गर्दै प्रशासनको ध्यानाकर्षण



मानव अधिकार रक्षक सन्जालले स्थानीय तह निर्वाचनको प्रचारप्रसार र अन्य अभियानमा बालबालिकाको प्रयोग रोक्न जिल्ला प्रशासन कार्यालय जुम्लाको ध्यानाकर्षण गरेको छ ।निर्वाचन आचार संहिता पालनमा कडाइको माग गर्दै सन्जालले सहायक बिहीबार प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल समक्ष ध्यानाकर्षण पत्र बुझाएको हो ।

यसअघिका निर्वाचनमा राजनीतिक दलहरूले निर्वाचनका बेला आचारसंहिता उल्लघन गर्ने, १८ वर्षमुनिका बालबालिकालाई प्रयोग गर्ने र विद्यालयमा आमसभालगायत कार्यक्रम गर्ने गर्थे । तर यसपटक यस्ता गतिविधि रोक्नुपर्ने सञ्जालको माग छ ।

बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा २ मा राजनीतिक प्रयोजनका लागि बालबालिकालाई संगठित गर्ने वा हड्ताल, बन्द, चक्काजाम, धर्ना र जुलुसमा प्रयोग गर्न नहुने उल्लेख छ । यसलाई बालबालिकाविरुद्ध कसुरको रूपमा व्यवस्था गरिएको र यदी कोही कसैले सो कसुर गरेमा दफा ७२ मा ७५ हजार रुपैयाँसम्म जरीवाना र तीन वर्ष कैदको व्यवस्था छ ।

ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी रिजालले विषय निकै गम्भीर रहेको र यसको समाधान खोज्न अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाइन् । उनले निर्वाचनमा बालबालिकाको प्रयोग र विद्यालयमा राजनीतिक गतिविधि रोक्न तथा निर्वाचन आचारसंहितालाई कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाइन । उनले भनिन्, ‘यसैगरी सन्जालले जिल्लाका क्रियाशिल राजनीतिक दलहरूको पनि ध्यानाकर्षण गर्ने छ ।’

मानव अधिकार रक्षक सन्जाल जुम्लाका संयोजक राजबहादुर महतले सहायक प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । कार्यक्रममा सन्जालका संयोजक राजबहादुर महत, पत्रकार महासंघ जुम्ला अध्यक्ष नेत्रबहादुर शाही, इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावल, नगर बाल सञ्जाल अध्यक्ष आकृति न्यौपाने र अल्पकालिन महिला सेवा केन्द्र जुम्लाका अध्यक्ष भगवती श्रेष्ठसहितको सहभागिता थियो ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ४ : ३१ बजे