चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनका दलहरुको निर्णय



सत्ता गठबन्धनका पाँच दलबीच चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति भएको छ । सोमबार बिहान बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने सहमति भएको हो ।

सहमति पत्रमा कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इञ्चार्ज कृष्ण प्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राजमो अध्यक्ष डम्बर पुरीले हस्ताक्षर गरेका छन् ।

बैठकले सात वटै स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गर्दै यसका लागि आवश्यक छलफल गर्ने तय समेत गरेको छ । बैठकले स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गरी जाने निर्णय गरिएको बैठकपछि जारी गरिएको बैठकपछी जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस चितवनका सभापति खनालको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार चितवनका सातवटै पालिकाहरुमा तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र निर्माण गरिने छ । संयुक्त संयन्त्रको संयोजन नेपाली कांग्रेसको पालिका सभापतिले गर्ने छन् । दलगत वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १÷१ जना प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति : चैत्र २१, २०७८ सोमबार  १ : १४ बजे