मुक्तिनाथमा बढ्यो चहलपहल,पर्यटन व्यवसायी उत्साहित



कोरोना कहरका कारण लामो समयदेखि सुस्ताएको हिमाल पारीको जिल्ला मुक्तिनाथमा दर्शनार्थीको चहलपहल ह्वात्तै बढेको छ ।कोरोनाका कारण दुई वर्षयता घरमा नै थुनिएर बस्न बाध्य सर्वसाधारण कोरोनाको कहर घट्दै गएसँगै घुम्न एवम् दर्शन गर्न निस्कने क्रमसँगै झण्डै दुई सातायता मुक्तिनाथ पुग्नेको सङ्ख्या बढेको हो ।

विशेषतः प्रत्येक वर्षको सोह्र श्राद्धका समयका साथै चैत कृष्ण पक्षको औंसीका दिन पारेर देशका विभिन्न स्थानका साथै भारतबाट समेत दर्शनार्थी आउने गरेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताए ।यस समयमा कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास रहेको उनले जानकारी दिए । यस पटक चैत कृष्ण पक्षको औंशीमा २० हजारभन्दा बढीको सङ्ख्यामा दर्शनार्थी मुक्तिनाथ पुगेको पुजारी सुवेदीको भनाइ छ ।

प्रकृति र संस्कृतिको अनुपम गन्तव्यका रुपमा स्थापित मुक्तिनाथमा पछिल्लो दशकयता चिसोको समयसमेतमा दर्शन र अवलोकनका लागि आन्तरिक पर्यटक पुग्ने गरेको अवस्थामा झण्डै दुई वर्षसम्म कोरोना कहरका कारण यो ठाउँ सुनसान बनेको थियो । कोरोना कहरकाबीचमा सङ्क्रमणको जोखिमीलाई दृष्टिगत गरी पूजाआजामा समेत रोक लगाइएको थियो ।

पछिल्ला दिनमा पर्यटकको बढ्दो चापले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । लामो समयसम्म सुनसान बनेको मुस्ताङको पर्यटनमा बढ्दो पर्यटक आगमनले आशा जगाएको ग्रिन तारा होटलका सञ्चालक सुकमन थकालीले बताउनुभयो । केही दिन यता दैनिक ठूलो सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रने गरेका छन् ।

पछिल्ला दिनमा पर्यटकीय नगरी पोखराबाट दैनिक ५० भन्दा बढीको सङ्ख्यामा स्कर्पीयो जिपका साथै रिजर्भ बस मुक्तिनाथ जाने गरेको यात्री बस प्रालिका अध्यक्ष सोमबहादुर थापाले जानकारी दिनुभयो । कतिपयले आफ्नै निजी सवारी साधन प्रयोग गरेर मुक्तिनाथ पुग्ने गरेको उनले बताए । पोखराबाट नेपाल, समिट र तारा एयरलायन्सले दैनिक तीनदेखि पाँचसम्म उडान गर्ने गरेका छन् ।

प्रकाशित मिति : चैत्र २३, २०७८ बुधबार  ६ : ०३ बजे