राजनीति दलहरू चुनावी तालमेल र गठबन्धनका बिषयमा स्पष्ट बन्न नसक्दा महोत्तरीका स्थानीय तहमा उम्मेदवार छनोट प्रक्रिया अन्योल बनेको छ ।गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयले स्थानीय राजनीति दलका नेता कार्यकर्ताहरूबीचमा व्यापक मतभेद हुँदा प्रचारप्रचार अभियान समेत अघि बढ्न सकेको छैन ।
विशेषगरी नेपाली कांग्रेसभित्र महोत्तरीमा गठबन्धन गर्ने र नगर्ने भन्ने बिषयमा पक्ष र विपक्षमा बहस चलिरहेको छ । कतिपय पालिकाले त गठबन्धन नगर्ने निर्णय गर्दै प्रदेश र केन्द्रलाई पत्र समेत पठाइसकेका छन् ।सनिवार नेपाली कांग्रेस बर्दिबास नगरपालिकाले गठबन्धन गर्न नसकिने निर्णय गरेको थियो । गठबन्धन गर्दा सिङ्गो नेपाली कांग्रेसका नेता कार्यकर्ताको मनोबल घट्ने भन्दै गठबन्धन अस्वीकार गर्ने उनीहरूको निर्णय थियो ।
यसैबीच बर्दिबास नगरपालिकाका पाँच वडामा कांग्रेसले वडा अध्यक्षमा उम्मेदवारको छानेको जनाएको छ ।बर्दिबास–३ बाट यज्ञप्रसाद ढुङ्गेल, वडा नम्बर १ बाट भोला खड्का, वडा नम्बर ७ बाट भोरिल यादव, वडा नम्बर ८ बाट जीवन लामा र वडा नम्बर २ बाट चोलाराज प्याकुरेल सर्वसम्मतबाट छानिएका छन् ।








