भूमाफियाहरुलाइ नियन्त्रण गर्न नसके काठमाडौँको खाली ठाउँ छिटै सकिन्छ : प्रधानमन्त्री देउवा



प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँका खाली ठाउँ भूमाफियाहरुले आफ्नो नाममा लिने काम गरिरहेको भन्दै यसमा सचेत भएर काम गर्न निर्देसन दिएका छन् ।सहरी विकास मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी कोरिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा उनले यस्तो निर्देसन दिएका हुन् ।

भूमाफियाहरुलाइ नियन्त्रण गर्न नसके काठमाडौँमा खाली ठाउँ नहुने पनि उनले बताए।देशका केही ठूला नगरहरुमा आगामी आर्थिक वर्षदेखि पाइलट प्रोजेक्ट सुरु गरिने देउबाले बताए ।विश्वका अत्यधिक गतिमा सहरीकरण भइरहेका देशमा नेपाल पनि एक रहेको प्रधानमन्त्री देउवाले बताए । आर्थिक, सामाजिक र राजनीतिक विकासका साथै देशको समग्र विकासमा सहरीकरणको भूमिका रहेको उनको भनाइ छ । नेपालले व्यवस्थित सहरीकरणका लागि दोस्रो पञ्चवर्षीय योजनादेखि प्रयास गर्दै आएको भए पनि नेपालका सहरहरु अपेक्षित विकास हुन नसकेको उनले बताए । व्यवस्थित, सफा, सुन्दर र नयाँँ सहरको विकासको विकास गर्ने र सँगै विद्यमान पुराना सहरहरुमा आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ ।

तराई मधेस केन्द्रित सघन सहरी विकास कार्यक्रममार्फत जनसाङ्ख्यिक सन्तुलन कायम गर्न आबश्यक रहेको प्रधानमन्त्रीको भनाइ थियो । उनले भने, “पहाडी जिल्लाबाट तराई मधेसमा हुने बसाइँसराइलाई निरुत्साहित गर्न हिमाली तथा पहाडी नगरपालिकाहरुमा विस्तार गरिनेछ ।”

सहरी विकाससम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्दै विकास निर्माणमा दोहोरोपन हटाइने प्रधानमन्त्री देउवाले बताए । सरकारी खर्च कम गर्न सकेमा मुलुकको सहरी विकासले काँचुली फेर्नसक्ने उनको विश्वास छ । सहरीकरणमा देखिएका समस्या तथा चुनौतीको सम्बोधन गरिने र नयाँ सहरी नीतिमार्फत सम्मुनत राष्ट्रिय सहरी पूर्वाधारको पहुँचमा विस्तार गरिने उनले बताए ।प्रधानमन्त्री देउवाले भने, “यसले सहरी विकासका लागि समुचित स्रोत परिचालन गर्ने तथा अन्तर सरकारी समन्वय र सहरी सुशासन सुनिश्चित गर्न सहयोग गर्नेछ ।”

 

प्रकाशित मिति : चैत्र २९, २०७८ मंगलबार  ३ : ०८ बजे