नेपालि कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका कार्यकर्तालाई अन्याय हुनेगरी तालमेल नहुने उनले बताएका छन् ।कांग्रेसको एक महिने अभियान सकिएपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. महतले पार्टीका कार्यकर्तालाई अन्याय हुनेगरी तालमेल नहुने बताएका हुन् ।उनले कांग्रेसको विधानले गरेको व्यवस्था अनुसारको अधिकार प्रयोग गरेर नै निर्वाचनमा तालमेल गर्ने जनाए ।
स्थानीय तह निर्वाचनमा तालमेलका कुरा राष्ट्रिय निर्वाचनजस्तो सहज नभएको दाबि गर्दै महतले भने, ‘ठूलो पार्टी भएकाले हामी अलिकति उदार पनि होऔंला, तर यति पनि हुन सकिन्न कि आफ्नै पार्टीका साथीअहरुलाई अन्याय हुन्छ,’ ‘टुंगो लाउन जटिल छ, तल्लो तहको राष्ट्रिय निर्वाचनजस्तो सहज केन्द्रीय नेताहरू बसेर सीमित संख्याको संसद् संख्या बाँडफाँट गरेजस्तो होइन ।’
डा. महतले चुनावी तालमेलका लागि आफ्नो हैसियतभन्दा बढी दाबी नगर्न आग्रह गर्दै स्थानिय यथार्थको आधारमा तालमेल गरिने गठबन्धनका नेतालाइ जानकारि गराइएको पनि उल्लेख गरे ।महतले भने, ‘आफ्नो स्ट्रेन्थको आधारमा जहाँ आवश्यकता छ, त्यो अनुसार तालमेल गर्दा परिणाम आउँछ भन्ने कुरा उहाँहरूले पनि मनन गर्नुभएको छ ।’
उनले कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेको घर घर जाऔं, कांग्रेस जिताऔं अभियान सफल रहेको पनि बताए ।धेरै भ्रम फैलाइएको थियो । एमसीसीबारे ठूलो खालको भ्रम छरिएको रहेछ । विकास निर्माणका कामबारे पनि भ्रम फैलाइएको थियो । त्यो सबै भ्रम चिर्न सफल भयौं, उनले भने ।
पाँच वर्षे म्यान्डेट पाएर अधुरै छोडेका केपी ओली नेतृत्वको पार्टीलाई किन जिताउने भन्नेबारे पनि जनधारणा बुझ्ने मौका मिलेको उनको भनाइ छ ।घरघरमा गएर जनताको धारणा नजिकबाट बुझ्नै मौका पायौं । चुनावी तालमेलका विषयमा पनि उहाँहरूको धारणा कस्तो छ रु त्यो बुझ्ने मौका मिल्यो, डा. महतले भने । स्थानीय तह निर्वाचनका लागि पार्टीको अवस्था कस्तो छ भन्ने विषयमा पनि नजिकबाट बुझ्ने मौका मिलेको उनको भनाइ छ ।
स्थानीय तह लक्षित गरेर कांग्रेसले गत २९ फागुनदेखि एक महिने अभियान सञ्चालन गरेको थियो । अभियानमा कांग्रेसका केन्द्रीय प्रतिनिधिहरू गाउँघर केन्द्रित भएका थिए । अभियानको क्रममा केन्द्रीय प्रतिनिधिहरूलाई गाउँघरमा कांग्रेसबारे जनताको धारणा, पार्टीबारे फैलाइएका भ्रम चिर्ने, चुनावी तालमेल गरेर अघि बढ्ने विषयमा जनताको धारणालगायतका विषय बुझ्ने म्यान्डेट पाएका थिए ।
एक महिने अभियान सकेर केन्द्रीय प्रतिनिधिहरू सबै काठमाडौं फर्किँदैछन् । उनीहरूले आफूलाई खटाइएको जिल्लाको वस्तुस्थितिबारे प्रतिवेदन बुझाउनुपर्ने छ ।








