गृहमन्त्री खाँण चितवनमा



गृहमन्त्री बालकृष्ण खाँण आज चितवन पुगेका छन् । खाँणले जिल्ला पार्टी कार्यालय नारायणगढमा गठबन्धनका नेताहरूसँग छलफल गर्दै छन् । त्यसपछि मेयरमा बागी उमेदवारी दिएका पौडेललाई भेट्न पौडेलको निवास भरतपुर(७ स्थित पिपल चोक जाने छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले असन्तुष्ट नेता कार्यकर्तालाई सम्झाउन आएको बताए । असन्तुष्टलाई सम्झाउन के प्याकेज ल्याउनु भएको छ भन्ने प्रश्नमा उनले भने, ‘प्याकेजभन्दा पनि मन र हृदय लिएर आएको छु कि सबै नेपाली कांग्रेसका नेताहरूलाई सम्मान गर्न सकियोस् ।’

‘गठबन्धन गर्दा कहिलेकाहीँ आफूले चाहेको जस्तो हुँदैन । गठबन्धनमा आबद्ध अर्को राजनीतिक शक्ति संवाद छलफल हुनुपर्छ । एक कदम पछाडि पनि हट्नुपर्छ’, उनले भने, ‘संविधान र लोकतन्त्रका लागि पनि गठबन्धनको रक्षा गर्नु हाम्रो दायित्व हो ।’ गठबन्धनका कारण पार्टीले मतदाता नगुम्ने उनले दाबी गरे ।

‘यहाँ मभन्दा धेरै अग्रज नेताहरू हुनुहुन्छ । नेविसंघ, तरुण दलको नेतृत्वमा रहँदाका मेरा सहयोगी साथीहरू हुनुहुन्छ । सबैसँग संवाद र छलफल गरेर कसरी पार्टीलाई अगाडि बढाउने । चितवनको प्रतिष्ठालाई कसरी जोगाउने र मतदातालाई कसरी अपिल गर्ने सबैसँग परामर्श गरेर अघि बढ्दौँ’, उनले भने ।

प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार  ४ : २५ बजे