गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले काठमाडौँका सबै वडामा ‘सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र’ स्थापना गर्ने बताएकि छिन् ।गोरखा–काठमाडौँ चुनाव प्रचार समूहले आज आयोजना गरेको ‘शुभकामना कार्यक्रम’मा उनले आफू प्रमुखमा विजयी भए महानगरीय स्वास्थ्य प्रणालीको विकास गर्न प्रत्येक वडामा ‘सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र’ स्थापना गर्ने बताएकि हुन् ।
“ज्येष्ठ नागरिक, अपाङ्ग, अति विपन्न व्यक्तिको उपचारका लागि सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका साथै विशेषज्ञ सेवासहितको महानगरीय अस्पताल सञ्चालन गर्दछु”, उनले भनिन् ।
नेत्री सिंहले अस्तव्यस्त काठमाडौँ महानगरलाई सुन्दर, सफा र व्यवस्थित बनाउन आफू लाग्ने बताइन् । “म राजनीतिककर्मी हुँ, राजनीतिक परिवारमा विवाह गरेर घर सम्हाल्दै गर्दा पद लिने अवसर पाइन, अब पद लिनका लागि तपाईँहरुका अगाडि आएको छु, मलाई प्रमुखमा विजयी गराइदिनुहुनेछ भन्ने विश्वास लिएको छु”, उनले भनिन् ।
उनले काठमाडौँ महानगरभित्र बस्ने सम्पूर्ण बासिन्दाको शिर ठाडो हुनेगरी आफूले काम गर्ने बताइन् । उनले महिलालाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने, युवालाई उद्यमी बनाउने, महानगरभित्र रहेका विभिन्न क्लबलाई खेलकूद क्षेत्रमा जोड्नेलगायतका काम आफूले गर्ने स्पष्ट पारिन् ।
नेत्री सिंहले काठमाडौँ महानगरलाई भ्रष्टाचारमुक्त महानगर बनाउँदै महानगरभित्रका सेवा सुविधालाई चुस्तदुरुस्त बनाउँदैै सुशासन कायम गराउने उल्लेख गरिन् । काठमाडौँ भित्रको सधैँ चर्चामा आउने फोहर व्यवस्थापन र ढल व्यवस्थापनलाई आफूले प्राथमिकतामा राखेर काम गर्ने नको भनाइ छ ।